सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–१ शहिदचोकमा प्रहरीले बिना बिल तथा बिलभन्दा बढी सामान ओसारपसार गरिरहेको बोलेरो पिकअप जिपसहित विभिन्न सामग्री नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको चेकिङ टोलीले सोमबार बिहान बुटवलबाट पोखरातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च २१७५ नम्बरको बोलेरो पिकअपलाई रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा बिलमा उल्लेख भएभन्दा बढी परिमाणमा विभिन्न रासायनिक तथा सरसफाइ सामग्री ल्याइएको फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त गाडीबाट कस्टिक सोडा, टर्पिन आयल, लिक्विड सोप, टाइल्स क्लिनर, मार्बल क्लिन, नाइट्रिक एसिड, टीआर भोल लगायतका सामग्री बरामद गरेको हो । बरामद सामग्रीको अनुमानित मूल्य १ लाख ३७ हजार १ सय ७५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अमृत त्रिपाठीले चेकजाँचका क्रममा शंकास्पद रूपमा सामान बोकेको गाडी फेला परेपछि विस्तृत परीक्षण गरिएको बताए ।
उनका अनुसार बिलभन्दा बढी सामान भेटिएपछि गाडी र सामग्री नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको छ ।
प्रहरी निरीक्षक त्रिपाठीले राजमार्ग हुँदै हुने अवैध सामान ओसारपसार नियन्त्रणका लागि नियमित चेकजाँचलाई थप कडाइ गरिएको पनि बताए ।




