स्याङ्जाको पुतलीबजार नगरपालिकाले कार्यालयभित्र कार्यरत एक सब–इन्जिनियरमाथि भएको कुटपिट तथा अभद्र व्यवहारको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । नगरपालिकाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेको हो ।
नगरपालिकाका अनुसार मंगलबार बिहान नियमित कार्यालयको काम गरिरहेका बेला सब–इन्जिनियरको कार्यकक्षमै प्रवेश गरी कुटपिट, सांघातिक हमला तथा अभद्र व्यवहार गरिएको थियो । तर, घटनामा को संलग्न थिए, विवाद के कारण उत्पन्न भयो भन्नेबारे भने नगरपालिकाले स्पष्ट खुलाएको छैन ।
प्रेस विज्ञप्तिमा कर्मचारीको कार्य विवरणभन्दा बाहिरको विषयलाई लिएर घटना भएको उल्लेख गरिए पनि त्यसको प्रकृति सार्वजनिक नगरिएकाले घटनालाई लिएर थप चासो बढेको छ ।
नगरपालिकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयभित्रै राष्ट्रसेवक कर्मचारीमाथि भएको हिंसात्मक तथा अराजक गतिविधि कुनै पनि दृष्टिले स्वीकार्य नहुने जनाएको छ । यस्तो घटनाले कर्मचारीको मनोबल कमजोर बनाउनुका साथै कार्यालयको सुरक्षित र मर्यादित वातावरणमा असर पुगेको नगरपालिकाको भनाइ छ ।
घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । साथै सम्पूर्ण कर्मचारीलाई सुरक्षित, भयमुक्त र सम्मानजनक वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।




