स्याङ्जाको भीरकोट नगरपालिकामा महिलाहरूलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको छ । वडा नं. ५ र नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको दुई महिने तालिममा २८ जना महिलाको सहभागिता रहेको छ ।
महिलाको सीप विकास, आत्मनिर्भरता तथा स्थानीय संस्कृतिको संरक्षणलाई ध्यानमा राखेर तालिम सञ्चालन गरिएको वडा नं. ५ का वडा अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए । उनले जनजाति र दलित समुदायका महिलालाई प्राथमिकतामा राखेर तालिम दिइएको बताए ।
तालिममा स्वरेक चण्डीकालिका आमा समूहका १६ जना र माथिबारी गडीभञ्ज्याङ आमा समूहका १२ जना महिलाले सहभागिता जनाएका थिए । सहभागीलाई पञ्चेबाजा बजाउने आधारभूत सीपदेखि उन्नत अभ्यास, तालमेल र प्रस्तुतीकरणबारे प्रशिक्षण दिइएको थियो ।
नगर उपप्रमुख भगवती रेग्मी अर्यालले महिलालाई उद्यमशीलतासँग जोड्ने र मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनका अनुसार यस्ता तालिमले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै स्थानीय सांस्कृतिक पहिचान जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिममा अर्जुन परियार, देबेन्द्र परियार र विक्रम परियारले प्रशिक्षण दिएका थिए । तालिममा सहभागी महिलाहरूले पनि कार्यक्रमप्रति उत्साह व्यक्त गरेका छन् । स्वरेक चण्डीकालिका आमा समूहकी अध्यक्ष मिना थापाले आफ्नै गाउँठाउँमा बसेर नयाँ सीप सिक्न पाउँदा आत्मविश्वास बढेको बताइन् । उनले तालिमपछि सामूहिक रूपमा व्यवसायिक रूपमा पञ्चेबाजा बजाउने योजना रहेको समेत सुनाइन् ।
कार्यक्रमका लागि ‘उपमेयरसँग महिला कार्यक्रम’ अन्तर्गत १ लाख ५० हजार रुपैयाँ र वडा कार्यालयबाट १ लाख ५० हजार रुपैयाँ गरी कुल ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।





