Syangja Dainik Media
कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै भीरकोटको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक

स्याङ्जाको भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य सेवा र सुशासनलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख गोविन्दकुमार कर्मचार्यले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “समृद्ध भीरकोटको आधारः कृषि, पर्यटन आँधीखोलाको उपहार” भन्ने मूल नारालाई आत्मसात गरिएको छ ।

नगर प्रमुख कर्मचार्यले सीमित स्रोत–साधनका बीच पनि नागरिकको अपेक्षा सम्बोधन गर्ने प्रयास गरिएको उल्लेख गर्दै कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, सडक सञ्जाल विस्तार, खानेपानी पहुँच र डिजिटल सेवा प्रवाहलाई आगामी वर्षको मुख्य प्राथमिकतामा राखिएको बताए ।

नगरपालिकाले आगामी वर्ष शतप्रतिशत घरधुरीमा खानेपानी पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । मुख्य सडकहरूलाई क्रमशः ढलान तथा कालोपत्रे गर्दै जाने, सबै मौसममा सञ्चालन हुने सडक निर्माणलाई प्राथमिकता दिने तथा सिद्धार्थ राजमार्ग विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय बढाउने नीति लिइएको छ । नगरका संवेदनशील क्षेत्र र बजार क्षेत्रमा सिसिटिभी जडान गरी सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।

कृषि क्षेत्रतर्फ भीरकोट कृषि तथा पशु विकास परियोजनालाई निरन्तरता दिइने भएको छ । तरबुजा खेती, अकबरे खुर्सानी उत्पादन, सुन्तला खेती, मौरीपालन, बाख्रापालन तथा उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई विस्तार गरिने नीति लिइएको छ । कृषक सूचीकरण गरी परिचयपत्र वितरण गर्ने तथा अनुदानलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने व्यवस्था गरिने जनाइएको छ ।

शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आगामी आर्थिक वर्षलाई शैक्षिक गुणस्तर सुधारको आधार वर्षका रूपमा घोषणा गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालन, आधारभूत तहसम्म निःशुल्क शिक्षाको सुनिश्चितता, उत्कृष्ट विद्यार्थी र शिक्षकलाई पुरस्कार तथा विद्यालय व्यवस्थापन सुधारका कार्यक्रम अघि बढाइनेछन् । कक्षा ६ सम्मका विद्यार्थीका लागि दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गरिने नीति पनि समेटिएको छ ।

स्वास्थ्यतर्फ नगर अस्पतालमा डायलासिस सेवा सञ्चालनको पहल गरिने, गाउँघर क्लिनिक कार्यक्रमलाई विस्तार गरिने तथा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा र महिला स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

सुशासन र सेवा प्रवाह सुधारका लागि ‘डिजिटल सिटिजन चार्टर’, अनलाइन कर भुक्तानी प्रणाली, सार्वजनिक सुनुवाइ, चौमासिक समीक्षा तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने भएको छ । नगरपालिकाको सेवा प्रवाहलाई थप छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्य राखिएको छ ।

पर्यटन प्रवर्द्धनका लागि छाङ्छाङ्दी, स्वरेक मैदान, खिलुङ कालिका, भीरकोट कालिका, गडहरे गुफा, कोखे झरना लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिइने भएको छ । घरबास (होमस्टे) पर्यटनलाई समेत सुदृढ बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर प्रमुख कर्मचार्यले चालू आर्थिक वर्षमा सडक ढलान, तटबन्धन, कृषि तथा पशु विकास कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य शिविर, शिक्षा सुधार अभियान र सामाजिक सुरक्षा वितरणलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गरे । उनले आगामी वर्ष नागरिकको अपेक्षाअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र जनमैत्री बनाउँदै समृद्ध भीरकोट निर्माणको अभियानलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

सोमबार भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य सेवा र सुशासनलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update