Syangja Dainik Media
स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार

स्याङ्जामा विद्यार्थीहरूले विज्ञान र प्रविधिमा आधारित आफ्ना सिर्जनात्मक सोच, आविष्कार र नवप्रवर्तन सार्वजनिक गरेका छन् । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले आयोजना गरेको विज्ञान सामग्री प्रदर्शनी प्रतियोगितामा जिल्लाभरका विद्यालयका विद्यार्थीले आफ्ना प्रयोगात्मक परियोजना प्रस्तुत गरेका हुन् ।

पुतलीबजार नगरपालिका–१ स्थित भू.पू सैनिक आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा १२ वटा विद्यालय सहभागी भएका थिए । प्रतियोगितासँगै थप २० जना विद्यार्थीले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी आफ्ना छुट्टै आविष्कार समेत प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले वातावरण, ऊर्जा, प्रविधि, दैनिक जीवन उपयोगी सामग्री तथा वैज्ञानिक प्रयोगसँग सम्बन्धित सामग्री प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा आँधीखोला गाउँपालिकाको त्रि–शहिद नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । गल्याङ नगरपालिकाको भानुभक्त आचार्य मावि दोस्रो, बिरुवा गाउँपालिकाको जीवन ज्योति माध्यमिक विद्यालय तेस्रो तथा पुतलीबजार नगरपालिकाको त्रिभुवन आदर्श नमुना मावि सान्त्वना स्थान हासिल गर्न सफल भए ।

प्रथम हुने विद्यालयले १० हजार रुपैयाँ, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार र सान्त्वना हुने विद्यालयले ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । नवप्रवर्तन तथा आविष्कार प्रस्तुत गर्ने अन्य विद्यार्थीलाई समेत नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिए ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले विज्ञान र अनुसन्धानप्रति विद्यार्थीको रुचि बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले भविष्यमा वैज्ञानिक उत्पादनका लागि विद्यालय तहदेखि नै अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्ने धारणा राखे ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले विज्ञान र प्रविधिको विकास बिना समृद्धि सम्भव नहुने उल्लेख गर्दै बालबालिकामा वैज्ञानिक सोच विकास गर्न यस्ता गतिविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विश्वराज आचार्यले सानै उमेरदेखि विद्यार्थीलाई विज्ञान, प्रविधि र नवप्रवर्तनतर्फ आकर्षित गर्न सके भविष्यमा दक्ष जनशक्ति उत्पादन हुने बताए ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले विद्यालय तहबाटै विद्यार्थीमा रहेको वैज्ञानिक क्षमता र सिर्जनशीलता उजागर गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विज्ञान तथा प्रविधिको प्रयोगात्मक ज्ञानलाई व्यवहारमा उतार्ने अवसरका रूपमा प्रतियोगिता उपयोगी बनेको उल्लेख गर्दै विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुगेको धारणा राखे ।

कार्यक्रममा विज्ञान शिक्षक समाज गण्डकी प्रदेशका अध्यक्ष सुजन लम्साल र सल्लाहकार राजकुमार ढकालले प्रतियोगिताको मूल्यांकन गरेका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update