Syangja Dainik Media
फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना

स्याङ्जाको फेदीखोला गाउँपालिकामा “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने नारासहित आयोजित आइटी एक्जीभिसन तथा विद्यार्थी प्रतिभा नवप्रवर्तन प्रदर्शनी–२०८३ सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित ‘जोया एआई असिस्टेन्ट’ सहित विभिन्न डिजिटल तथा प्रविधिमैत्री परियोजना प्रस्तुत गरेका छन् ।

प्रदर्शनीमा सहभागी विद्यालयहरूले ‘जोया एआई असिस्टेन्ट’, स्मार्ट डस्टबिन, स्मार्ट टोल गेट सिस्टम, रोबो कार, सोलार कार, रिजल्ट म्यानेजमेन्ट सफ्टवेयर, नमुना वेबसाइट, फक्स होल रेडियो लगायतका परियोजना प्रदर्शन गरेका थिए । तीमध्ये चण्डीडाँडा माध्यमिक विद्यालयले प्रदर्शन गरेको ‘जोया एआई असिस्टेन्ट’ प्रथम भएको थियो ।

विद्यार्थीहरूले तयार पारेको ‘जोया’ च्याटबोटले प्रयोगकर्ताको निर्देशनअनुसार युट्युब, गुगल क्रोम लगायतका एप्लिकेसन सञ्चालन गर्न सक्ने क्षमता रहेको दाबी गरिएको छ । नेपाली परिवेशलाई ध्यानमा राखेर प्रयोगमैत्री बनाइएको उक्त परियोजनाले प्रदर्शनीमा धेरैको ध्यान खिचेको थियो ।

प्रदर्शनीमा सहभागी शिक्षक, अभिभावक तथा स्थानीयले ग्रामीण क्षेत्रका विद्यार्थीले तयार पारेको च्याटबोटलाई सिर्जनशीलता र प्रविधिप्रतिको आकर्षणको उदाहरणका रूपमा लिएका छन् । सीमित स्रोतसाधनका बीच पनि विद्यार्थीहरूले देखाएको क्षमता प्रशंसनीय रहेको उनीहरूको प्रतिक्रिया थियो ।

प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालयको नमुना वेबसाइट दोस्रो, सिद्धार्थ माध्यमिक विद्यालयको ‘स्मार्ट टोल गेट सिस्टम’ तेस्रो तथा दामगाडे माध्यमिक विद्यालयको ‘रिजल्ट म्यानेजमेन्ट सफ्टवेयर’ले सान्त्वना स्थान हासिल गरेका थिए । विजेताहरूलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा ९ सामुदायिक र १ संस्थागत गरी १० माध्यमिक विद्यालयका ३९ विद्यार्थी सहभागी भएका थिए भने करिब १२०० विद्यार्थीले प्रत्यक्ष अवलोकन गरेका थिए ।

फेदीखोला गाउँपालिकाले शिक्षामा ‘चार प’ — पाठ्यक्रम, प्रविधि, पूर्वाधार र प्रोत्साहन — को नीति लागू गर्दै वार्षिक बजेटको ३८ प्रतिशतभन्दा बढी लगानी गर्दै आएको जनाएको छ । गाउँपालिकाले करिब ६ वर्षदेखि “एक विद्यालय, एक आईटी शिक्षक” कार्यक्रममार्फत माध्यमिक विद्यालयहरूमा आईटी शिक्षक उपलब्ध गराउँदै आएको छ भने विद्यालयहरूमा आईटी ल्याब स्थापना, डिजिटल शिक्षाको विस्तार तथा प्रविधिमैत्री सिकाइलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

हाल गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयमा आईटी कक्षा सञ्चालनमा छन् भने १६ सयभन्दा बढी विद्यार्थी आईटी शिक्षामा आबद्ध रहेका छन् । शिक्षकलाई प्रविधिसँग जोड्न ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम पनि सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

सिद्धार्थ माध्यमिक विद्यालयमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ अध्ययन गराइँदै आएको छ । त्यहाँ अध्ययन पूरा गरेका विद्यार्थीलाई गाउँपालिकाले ६ महिनाको सशुल्क इन्टर्नको अवसरसमेत उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा फेदीखोलामै जन्मिएर हाल एप्पल क्यालिफोर्नियामा इन्जिनियरिङ म्यानेजरका रूपमा कार्यरत सन्तोष पोखरेलले अनलाइनमार्फत विद्यार्थीलाई आईटी क्षेत्रको सम्भावना, मेहनत र सफलताको अनुभव सुनाएका थिए ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले फेदीखोलालाई आगामी दिनमा ‘आईटी हब’ का रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको बताए । उनले सामुदायिक विद्यालयलाई प्रविधिसँग जोड्ने उद्देश्यले आईटी अभियानलाई निरन्तरता दिइएको बताए ।

ग्रामीण क्षेत्रका विद्यार्थीले पनि विश्वस्तरको प्रविधिमा काम गर्न सक्ने क्षमता विकास गरिरहेको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष सुवेदीले निर्माणाधीन जीआईटी गण्डकी प्राविधिक विद्यालयले पनि विद्यार्थीमा थप ऊर्जा र अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update