Syangja Dainik Media
स्याङ्जा प्रहरीको नेतृत्व फेरिँदै, एसपी न्यौपानेको कामको चर्चा गर्दै राठौरलाई स्वागतको तयारी

स्याङ्जा प्रहरीको नेतृत्व फेरिने भएको छ । नेपाल प्रहरीले यही जेठ १ गते सार्वजनिक गरेको प्रहरी उपरीक्षक (एसपी) तथा प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा सूचीअनुसार स्याङ्जा प्रहरी प्रमुखको जिम्मेवारी अब एसपी रंजित सिंह राठौरले सम्हाल्ने भएका हुन् । राठौर यसअघि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत थिए ।

हाल जिल्लाको नेतृत्व गरिरहेका प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेको भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौंमा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको नेतृत्व परिवर्तनसँगै जिल्लाका केही महत्त्वपूर्ण प्रहरी इकाइमा पनि नयाँ नेतृत्व आउने तयारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखा धनगढी, कैलालीबाट नयाँ डिएसपी रमेश दत्त अवस्थी र वडा प्रहरी कार्यालय वालिङमा नयाँ प्रमुख डिएसपी प्रताप पौडेल आउने भएका छन् । पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंगाल, काठमाडौंमा थिए ।

यस्तै, इलाका प्रहरी कार्यालय चापाकोटमा समेत नयाँ प्रमुख डिएसपी गणेश सापकोटालाई खटाइने भएको छ । सापकोटा यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षकको सचिवालय तुलसीपुर, दाङमा थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रसन्न राज चौधरीको इलाका प्रहरी कार्यालय सुक्खड कैलालीमा, वडा प्रहरी कार्यालय वालिङका डिएसपी कमलराज पण्डितको इलाका प्रहरी कार्यालय कावासोती नवलपुर, पुर्वी नवलपरासीमा सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय चापाकोटका डिएसपी दिपक मल्लको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, अन्वेषण योजना शाखामा सरुवा भएको छ ।

प्रहरी संगठनभित्र नियमित प्रक्रिया अन्तर्गत गरिएको सरुवालाई सामान्य प्रशासनिक प्रक्रिया मानिए पनि स्याङ्जामा भने एसपी दधिराम न्यौपानेको कार्यकालको चर्चा अहिले पनि भइरहेको छ । करिब एक वर्षको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र समुदाय–प्रहरी सम्बन्ध सुधारमा उनले खेलेको भूमिकालाई स्थानीयले सकारात्मक रूपमा स्मरण गरिरहेका छन् ।

विशेषगरी पछिल्लो समय जिल्लामा बढ्दै गइरहेका विभिन्न सामाजिक विकृति, घरेलु हिंसा, वित्तीय ठगी तथा सामाजिक सञ्जालमार्फत हुने आपराधिक गतिविधि नियन्त्रण, लागूऔषध दुव्र्यसन तथा युवामाझ फैलिँदै गएको अवाञ्छित गतिविधि नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको थियो । कतिपय फरार अभियुक्त पक्राउ, चोरीका घटनाको अनुसन्धान तथा सवारी दुर्घटना न्यूनीकरण अभियानलाई समेत न्यौपाने नेतृत्वको टोलीले प्राथमिकतामा राखेको थियो । त्यसमा एसपी न्यौपानेको प्रत्यक्ष चासो र निगरानी रहने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

उनको कार्यकालमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई जिल्लाका ग्रामीण क्षेत्रसम्म पुगेर समुदायसँग प्रत्यक्ष संवाद गर्ने अभ्यासलाई पनि प्रभावकारी कदमका रूपमा हेरिएको छ । विद्यालयस्तरमा सचेतना कार्यक्रम, महिला तथा ज्येष्ठ नागरिकसँग अन्तरक्रिया, साइबर अपराधसम्बन्धी जनचेतना तथा सडक सुरक्षा अभियानलाई निरन्तरता दिइएको थियो ।

त्यस्तै, चाडपर्वका समयमा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन, बजार अनुगमनमा सहकार्य तथा संवेदनशील घटनामा तदारुकताका साथ अनुसन्धान अघि बढाउने कामले पनि उनको कार्यशैली फरक देखिएको स्थानीयको भनाइ छ । जिल्लाका विभिन्न स्थानीय तहसँग समन्वय गरेर सुरक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउनका साथै प्रहरीले समुदायमा विश्वास बढाउने प्रयास गरेको थियो ।

उनको कार्यकालमा स्याङ्जामा भएका विभिन्न सामाजिक तथा राजनीतिक गतिविधि शान्तिपूर्ण रूपमा सम्पन्न भएका थिए । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, मर्यादित र व्यवस्थित ढंगले सम्पन्न गराउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी स्रोत बताउँछ । निर्वाचन अवधिभर सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्लाभर सुरक्षा संयन्त्र परिचालन गरिएको थियो भने मतदान केन्द्रहरूको व्यवस्थापनदेखि मतगणनासम्म सुरक्षा अवस्था सामान्य राख्न प्रहरी सफल भएको थियो ।

वालिङ, गल्याङ, चापाकोटलगायत व्यस्त क्षेत्रहरूमा ट्राफिक व्यवस्थापन सुधार गर्न गरिएको पहललाई पनि सकारात्मक रूपमा लिइएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सडक सचेतना अभियान सञ्चालन, मापसे जाँचमा कडाइ तथा सार्वजनिक सवारी व्यवस्थापनमा सक्रियता बढाइएको थियो ।

एसपी न्यौपानेले जिल्लामा कार्यरत रहँदा प्रहरी संगठनभित्र अनुशासन कायम गर्न पनि जोड दिएका थिए । प्रहरी कर्मचारीको आन्तरिक व्यवस्थापन, सेवाग्राहीसँगको व्यवहार सुधार तथा छिटो सेवा प्रवाहमा उनले विशेष ध्यान दिएको बताइन्छ ।

अब स्याङ्जाको नेतृत्व सम्हाल्न आउन लागेका एसपी रन्जित सिंह राठौरलाई लिएर पनि चासो बढेको छ । प्रहरी संगठनभित्र अनुसन्धान र सुरक्षा व्यवस्थापनमा अनुभवसहित काम गरेका अधिकारीका रूपमा चिनिने राठौरले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । जिल्लामा नयाँ नेतृत्व आएसँगै प्रहरी प्रशासनले नयाँ ढंगले काम अघि बढाउने चासो पनि स्थानीय स्तरमा देखिएको छ ।

स्याङ्जा भौगोलिक रूपमा फैलिएको जिल्ला भएकाले यहाँ शान्ति सुरक्षा व्यवस्थापनसँगै ग्रामीण क्षेत्रमा प्रहरी पहुँच विस्तार चुनौतीपूर्ण मानिन्छ । त्यसैगरी वैदेशिक रोजगारी, साइबर अपराध, लागूऔषध ओसारपसार तथा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना पछिल्लो समय बढ्दो चिन्ताको विषय बन्दै गएका छन् । यस्ता विषयमा नयाँ नेतृत्वले कसरी काम गर्छ भन्ने चासो पनि बढेको छ ।

उता, वडा प्रहरी कार्यालय वालिङ र इलाका प्रहरी कार्यालय चापाकोटमा नयाँ डिएसपी आउने भएपछि त्यहाँको सुरक्षा व्यवस्थापनमा पनि नयाँ शैली र सक्रियता देखिने अपेक्षा गरिएको छ । वालिङ क्षेत्र पछिल्लो समय व्यापारिक तथा शहरी गतिविधिले व्यस्त बन्दै गएकाले त्यहाँको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वले चुनौती र अवसर दुवै सामना गर्नुपर्ने देखिन्छ ।

यस्तै, चापाकोट क्षेत्रमा ग्रामीण भेगका सुरक्षा चुनौती, सीमा निगरानी, सामाजिक विवाद समाधान, सवारी आवागमन, नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा स्थानीय तहसँगको समन्वयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।

प्रहरी संगठनमा सरुवा नियमित प्रक्रिया भए पनि कुनै अधिकारीले आफ्नो कार्यकालमा छोडेको प्रभाव भने लामो समयसम्म स्मरण भइरहन्छ । स्याङ्जामा एसपी दधिराम न्यौपानेको कार्यकाललाई धेरैले त्यस्तै रूपमा सम्झिरहेका छन् । अब नयाँ नेतृत्वले त्यसलाई कसरी निरन्तरता दिन्छ भन्नेमा जिल्लावासीको नजर रहने देखिन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update