स्याङ्जाको वालिङ नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई केन्द्रमा राख्दै विद्यालय, शिक्षक र अभिभावकबीच नियमित समन्वयको अभ्यास सुरु गर्ने भएको छ । नगरपालिकाले अब प्रत्येक महिनामा विद्यालयस्तरमा अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनबीच बैठक सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रधानाध्यापक बैठक तथा शैक्षिक अन्तरक्रिया कार्यक्रममा नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरू सहभागी भएका थिए । कार्यक्रममा पछिल्लो शैक्षिक अवस्था, परीक्षाफल र विद्यालय व्यवस्थापन सुधारका विषयमा केन्द्रित भएर छलफल गरिएको थियो ।
कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा ८ को परीक्षाफल विश्लेषणदेखि स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय प्रमाणीकरण, हरित तथा बालमैत्री विद्यालय निर्माण, विद्यालय सुधार योजना कार्यान्वयन, अभिभावक सहभागिता वृद्धि, दिवा खाजा व्यवस्थापन तथा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली विवरण अद्यावधिकका विषयमा विस्तृत छलफल भएको शिक्षा शाखाले जनाएको छ ।
त्यसैगरी अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन, विद्यालयको कार्यसम्पादन मूल्यांकन र व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा पनि सहभागीबीच अन्तरक्रिया गरिएको थियो । प्रधानाध्यापकहरूले सामूहिक प्रयासबाट मात्रै शैक्षिक गुणस्तर सुधार सम्भव हुने धारणा राख्दै साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले विद्यालय, शिक्षक र अभिभावकबीच नियमित संवाद र समन्वय आवश्यक रहेको बताए । उनले मासिक बैठकमार्फत विद्यालयका समस्या, सिकाइ उपलब्धि र विद्यार्थीको व्यवहारसम्मको समीक्षा हुने उल्लेख गर्दै यसले शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उपप्रमुख कविता तिवारी गैह्रेले “एक वडा, एक आवासीय विद्यालय” अवधारणालाई कार्यान्वयनतर्फ अघि बढाइएको जानकारी दिँदै विद्यालयहरूमा योग अभ्यास सञ्चालन गर्ने तयारी रहेको बताइन् । उनले नगरभित्रका विद्यालयमा एकरूपता कायम गर्न गुलाबी पोशाक लागू गर्ने योजना समेत अघि सारिएको जानकारी दिइन् ।
नगरपालिकाले शिक्षा सुधारलाई दीर्घकालीन योजनासँग जोड्दै व्यवहारिक र परिणाममुखी कार्यक्रम अघि बढाएको जनाएको छ ।





