Syangja Dainik Media
वालिङले ‘एक स्वास्थ्य’ नीति लागू गर्दै, मानवदेखि वातावरणसम्मको स्वास्थ्यमा जोड

स्याङ्जाको वालिङ नगरपालिकाले मानव, पशु, वनस्पति, माटो र वातावरणीय स्वास्थ्यलाई एउटै दृष्टिकोणबाट हेर्ने ‘एक स्वास्थ्य’ नीति लागू गर्ने तयारी थालेको छ ।

नगरपालिकाले २०औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक स्वास्थ्य’ अवधारणालाई अभियानकै रूपमा अघि बढाउने उल्लेख गरेको छ । त्यसका लागि नीतिको प्रारम्भिक मस्यौदा तयार गर्ने र सरोकारवालासँग छलफल अघि बढाउने काम सुरु गरिएको छ ।

नगरप्रमुख कृष्ण खाँणले अहिलेसम्म मानव स्वास्थ्यलाई मात्रै प्राथमिकता दिँदा पशु, वनस्पति, माटो र वातावरणीय स्वास्थ्य ओझेलमा परेको बताए ।

‘हामीले मानव स्वास्थ्यमा मात्रै बढी ध्यान दिएका छौँ । तर पशु, वनस्पति, माटो र वातावरणलाई बेवास्ता गर्दा मानिसमा सर्ने र नसर्ने विभिन्न रोगको जोखिम बढ्दै गएको छ,’ उनले भने ।

उनका अनुसार पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने जुनोटिक रोग, महामारीजन्य संक्रमण तथा अन्य स्वास्थ्य जोखिमको रोकथाम, पहिचान, निगरानी र नियन्त्रणका लागि नगरपालिकाले एकीकृत नीति तयार गरिरहेको छ । खाद्य सुरक्षा, जैविक सुरक्षा र वातावरणीय स्वास्थ्य प्रवर्द्धनलाई पनि उक्त नीतिले समेट्ने उनले बताए ।

नगरउपप्रमुख कविता तिवारी गैह्रेले ‘एक स्वास्थ्य’ नीतिले मानव, पशु, वनस्पति र वातावरणीय स्वास्थ्यबीच समन्वय र सहकार्य बढाउँदै त्यसअनुसार योजना तथा कार्यक्रम सञ्चालन गर्न सहज हुने बताइन् ।

उनका अनुसार नीति कार्यान्वयनमा आएपछि माटो र वनस्पतिको संरक्षण, सुरक्षित कृषि प्रणालीको प्रवर्द्धन तथा रासायनिक विषादी र कृषि रसायनको सुरक्षित र विवेकपूर्ण प्रयोगमा समेत टेवा पुग्नेछ ।

नीतिसम्बन्धी छलफल कार्यक्रममा डा. राजेन्द्र ढकालले जुनोटिक रोगको जोखिम बढ्दो भए पनि त्यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेको बताए । उनले ‘एक स्वास्थ्य’ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेले वालिङ नगरपालिकालाई ‘एक स्वास्थ्य’ नीति निर्माण र कार्यान्वयनका क्रममा प्राविधिक सहजीकरण गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update