Syangja Dainik Media
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ ट्याक्सीचोकस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले बिना बिल तथा बिलमा उल्लेख भएभन्दा बढी सामान बोकेको बोलेरो पिकअप जिप नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान सवारी चेकजाँचका क्रममा पोखराबाट बुटवलतर्फ जाँदै गरेको बोलेरो पिकअप जिप रोकी चेकजाँच गर्दा बिलमा उल्लेख भएभन्दा बढी सामान लोड गरिएको भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

प्रहरीले जिपसहित विभिन्न प्रकारका दैनिक उपभोग्य तथा होटल प्रयोजनका सामान बरामद गरेको जनाएको छ । बरामद सामानको अनुमानित मूल्य १ लाख १८ हजार ९०६ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद सामानमा ह्यान्डवास, टिस्यु, ट्वाइलेट रोल, न्याप्किन, रुम स्प्रे, साबुन, एल्युमिनियम फुड कन्टेनर, प्लाष्टिक कप, कफी, चिया, चकलेट सिरपलगायत सामग्री रहेका छन् ।

प्रहरीका अनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बरामद सामान र बोलेरो जिप आन्तरिक राजस्व कार्यालय पोखरा, कास्की पठाइएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update