गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित सहसचिवहरूको व्यापक हेरफेर गरेको छ । शुक्रबार सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन सूचीअनुसार स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको सरुवा भएको छ भने निराजन घिमिरे स्याङ्जाको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आउने भएका छन् ।
मन्त्रालयको निर्णयअनुसार अर्याललाई संखुवासभाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उनको स्थानमा घिमिरेलाई स्याङ्जा पठाउने निर्णय गरिएको हो ।
गृह मन्त्रालयले देशभरका १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको जनाएको छ । तीमध्ये अधिकांश सहसचिवलाई विभिन्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खटाइएको छ । यसक्रममा स्याङ्जासहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।
सरुवाको सूचीमा कास्की, धादिङ, संखुवासभा, पाल्पा, नवलपरासी (पूर्व), सप्तरी, धनकुटा, उदयपुर, ओखलढुंगा, सर्लाही, रामेछाप र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसमेत परेका छन् ।
नयाँ जिम्मेवारीअनुसार कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई धनकुटा पठाइएको छ भने बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ कास्कीको नेतृत्वमा पुगेका छन् । यस्तै नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेलाई पाल्पा सरुवा गरिएको छ भने सुर्खेतमा कार्यरत जगदिश्वर उपाध्यायलाई नवलपुरको जिम्मेवारी दिइएको छ ।
गृह मन्त्रालयले प्रशासनिक संरचनालाई थप प्रभावकारी र सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले सरुवा तथा पदस्थापन गरिएको जनाएको छ ।
स्याङ्जामा नयाँ प्रमुख जिल्ला अधिकारीको आगमनसँगै जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा सरकारी सेवा प्रवाहका कामको नेतृत्व अब घिमिरेले सम्हाल्नेछन् ।
हेर्नुहोस् सूची: 





