Syangja Dainik Media
बालश्रम अन्त्यको बहस स्याङ्जासम्म : ‘कापी–कलम हातमा, श्रम होइन’ सन्देश

बालबालिकाको हातमा ईँटा र भारी होइन, कापी–कलम र पुस्तक हुनुपर्ने सन्देशसहित स्याङ्जामा विश्व बालश्रमविरुद्ध दिवस मनाइएको छ । बालश्रमको समस्याबारे समुदायस्तरमै बहस सिर्जना गर्दै यसको अन्त्यका लागि सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको निष्कर्ष कार्यक्रममा सहभागीहरूले निकालेका छन् ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना तथा अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा पञ्चकन्या माध्यमिक विद्यालयमा दिवस मनाइएको हो । “बालश्रमलाई रातो कार्ड : बालबालिकाका लागि निष्पक्ष खेल, वयस्कका लागि मर्यादित काम” भन्ने नारासहित आयोजित कार्यक्रममा प्रभातफेरी, अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र व्यक्तित्व विकासमा दीर्घकालीन असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार, समुदाय, निजी क्षेत्र र अभिभावक सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए ।

अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–१ का अध्यक्ष रणबहादुर थापाले बालमैत्री स्थानीय शासनको आधार नै बालबालिकाको सम्मानजनक जीवन भएको उल्लेख गर्दै बालश्रम अन्त्य बिना त्यो लक्ष्य पूरा हुन नसक्ने बताए ।

एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले बाल्यकाल सिकाइ, खेलकुद, माया र संरक्षणको वातावरणमा बित्नुपर्ने भन्दै बालबालिकाको बाँच्न, संरक्षण पाउन, विकास गर्न र सहभागिता जनाउन पाउने अधिकार सुनिश्चित गर्न बालश्रम अन्त्य अपरिहार्य रहेको बताए ।

प्रहरी चौकी अर्जुनचौपारीका प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर रिमालले बालश्रम संविधान र कानुनले निषेध गरेको विषय भएको स्मरण गराउँदै बालबालिकामा रहेको सम्भावनाको विकासका लागि उनीहरूमाथि लगानी गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विद्यार्थीहरूले कविता, वक्तृत्व, सिर्जना तथा अन्य साहित्यिक प्रस्तुतिमार्फत बालअधिकार र बालश्रम अन्त्यको पक्षमा आवाज उठाएका थिए । उत्कृष्ट प्रस्तुति दिने बालबालिकालाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

दिवसको अवसरमा बालबालिकाको हातमा श्रमका औजार होइन, शिक्षाका सामग्री पुग्नुपर्छ भन्ने सन्देशसहित सहभागी विद्यार्थीलाई कापी, कलम तथा बालसाहित्यका पुस्तक वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति सदस्य प्रेमप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख मनिषा घिमिरेले गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आह्वानमा सन् २००२ देखि हरेक वर्ष जुन १२ मा विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै आएको छ । नेपालमा संविधानले बालअधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि अझै करिब ११ लाख बालबालिका विभिन्न प्रकारका श्रममा संलग्न रहेको तथ्यांकले देखाउँछ ।

आईएलओ र युनिसेफले बालश्रम अन्त्यका लागि सामाजिक सुरक्षा कार्यक्रम विस्तार, गुणस्तरीय शिक्षामा पहुँच, बाल संरक्षण प्रणाली सुदृढीकरण, मर्यादित रोजगारी सिर्जना तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update