स्याङ्जाको भीरकोट नगरपालिकास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले अब पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गर्दा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् ।
सहकारी र गण्डकी मेडिकल कलेज (जीएमसी) बीच भएको सम्झौतापछि संस्थाका शेयर सदस्यहरूले स्वास्थ्य परीक्षणदेखि अस्पताल भर्नासम्मका सेवामा १० देखि २० प्रतिशतसम्म छुट सुविधा पाउने व्यवस्था गरिएको हो ।
भीरकोट–१ बयरघारीमा मुख्य कार्यालय रहेको शुभलक्ष्मी सहकारी र गण्डकी मेडिकल कलेजबीच हालै सम्पन्न कार्यक्रममा सहुलियतसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । सम्झौतामा मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा प्राचार्य डा. रविन्द्रप्रसाद श्रेष्ठ र सहकारीका अध्यक्ष भक्तबहादुर केसीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सहकारीका सदस्यले अस्पतालको दर्ता शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै ल्याब, एक्स–रे, ईसीजी, अल्ट्रासाउण्ड, सीटी स्क्यान र एमआरआईजस्ता परीक्षण सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ । अस्पतालमा भर्ना हुँदा बेड शुल्कमा १० प्रतिशत तथा दन्त उपचार सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सहकारीका व्यवस्थापक लेखबहादुर केसी (किरण) का अनुसार सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र कम खर्चमा उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको हो । उनले यसबाट सहकारीमा आबद्ध हजारौं सदस्य प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।
छुट सुविधा लिन सेवाग्राहीले सहकारीबाट जारी गरिएको परिचयपत्र वा संस्थाको आधिकारिक सिफारिससहित मेडिकल कलेजमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । आवश्यक प्रमाण पेश गरेपछि सदस्यहरूले सम्झौताअनुसारको सहुलियत प्राप्त गर्न सक्ने जनाइएको छ ।
स्थानीय स्तरमा सहकारी संस्था र स्वास्थ्य क्षेत्रबीचको यस्तो सहकार्यले सदस्यहरूको स्वास्थ्य सुरक्षामा टेवा पुग्नुका साथै सामाजिक उत्तरदायित्वमा आधारित सेवाप्रति विश्वास बढाउने अपेक्षा गरिएको छ ।





