Syangja Dainik Media
खुमा अर्याल फाउन्डेसनको नेतृत्वमा पुनः शर्मा

खुमा अर्याल फाउन्डेसनको आठौं साधारणसभा तथा तेस्रो अधिवेशनले लेखनाथ शर्मालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।

शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा हिमान्शु अर्याल, सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा छबिलाल अर्याल, सहसचिवमा युक्त अर्याल तथा सदस्यमा कमल अर्याल र गौरव अर्याल निर्वाचित भएका छन् ।

फाउन्डेसनका संरक्षक भेषराज अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्षता लेखनाथ शर्माले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष सालिकराम अर्यालले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष छबिलाल अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष शर्माले प्रगति प्रतिवेदनसहित आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष कमलराज ढकाल, सञ्जीवनी ग्रुप अफ कम्पनीका प्रबन्ध सञ्चालक तथा फाउन्डेसनका वरिष्ठ सदस्य सन्तोषकुमार खनाल, रामकृष्ण हमाल, युक्तनारायण अर्याल, हिमान्शु अर्याल, कृष्ण पौडेल, विश्वास लम्साल, दिवाकर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संरक्षक भेषराज अर्यालले सबैको साथ, सहयोग र विश्वासका कारण फाउन्डेसनले छोटो समयमै समाजमा सकारात्मक छाप छोड्न सफल भएको बताए । कार्यक्रमको सञ्चालन सचिव ध्रुव शर्माले गरेका थिए ।

अधिवेशनलाई निष्पक्ष र व्यवस्थित बनाउन अधिवक्ता सन्तोष पोखरेलको संयोजकत्वमा सन्तोषकुमार खनाल र विश्वास लम्साल सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष शर्माले फाउन्डेसनले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् व्यवस्थापन र रोजगारीका क्षेत्रमा केन्द्रित भएर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि ती क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गरिने बताए । सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै जिल्लाका विभिन्न समुदायसँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम अघि बढाइने उनको भनाइ थियो ।

यसैबीच, अधिवेशन अगावै फाउन्डेसनले स्याङ्जामा पत्रकार सम्मेलनमार्फत हालसम्म स्याङ्जा जिल्लामा शिक्षा, स्वास्थ्य तथा खेलकुदलगायत सामाजिक क्षेत्रमा करिब एक करोड रुपैयाँ बराबरका कल्याणकारी कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ । भीरकोट नगरपालिका–७ बलमाटामा प्रधान कार्यालय रहेको फाउन्डेसनले आर्थिक वर्ष २०८२/८३ मा करिब ८५ लाख रुपैयाँ आम्दानी गरेको र विभिन्न कार्यक्रममार्फत ९७ लाख रुपैयाँ बराबर खर्च गरेको जनाएको छ । चालू आर्थिक वर्षमा करिब ११ लाख रुपैयाँ सापटी तथा भुक्तानी दिन बाँकी रहेको विवरण पनि प्रस्तुत गरिएको छ ।

फाउन्डेसनका अनुसार जिल्लाका विभिन्न स्थानीय तहसँग समन्वय गरी झण्डै दुई हजारभन्दा बढी विपन्न तथा गरिब विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । यसका साथै विद्यालयहरूलाई कम्प्युटर तथा अन्य प्राविधिक सामग्री उपलब्ध गराउनुका साथै शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिमसमेत सञ्चालन गरिएको छ ।

स्वास्थ्यतर्फ बृहत् स्वास्थ्य शिविर, प्राथमिक उपचार कक्ष स्थापना तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ । खेलकुद क्षेत्रअन्तर्गत ऐतिहासिक महत्वको प्रथम खुमा अर्याल कप टी–ट्वान्टी क्रिकेट लिग २०८२ सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गरिएको छ । विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न समयमा आपत्कालीन तथा अल्पकालीन सहायता डेस्क सञ्चालन गरी प्रभावित समुदायलाई सहयोग पुर्‍याइएको फाउन्डेसनको भनाइ छ ।

अधिवेशनमा आगामी कार्ययोजना र रणनीतिबारे समेत छलफल भएको थियो । अध्यक्ष शर्माका अनुसार आगामी वर्ष जिल्लाका ११ वटै स्थानीय तहको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना गरिनेछ । आवश्यकता अनुसार विद्यालय पोशाक वितरण कार्यक्रमलाई पनि निरन्तरता दिइने उनले बताए । सहभागीहरूले शिक्षा, स्वास्थ्य, खेलकुद र युवा सशक्तीकरणका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update