Syangja Dainik Media
एक वर्षपछि पनि सम्झियो अर्जुनचौपारीले, कौशल पाण्डेलाई ‘सर्वोत्कृष्ट कर्मचारी’ सम्मान

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पूर्व प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेलाई ‘सर्वोत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान गरेको छ ।

गाउँपालिकाले एक वर्षअघि सरुवा भई गइसकेका पाण्डेको प्रशासनिक नेतृत्व, कार्यकुशलता र संस्थाप्रतिको समर्पणको उच्च मूल्यांकन गर्दै गाउँसभाको १९ औं अधिवेशनका अवसरमा सम्मान गरेको हो ।

गाउँपालिकाले पाण्डेलाई दिएको सम्मानपत्रमा “एक सक्षम प्रशासक त्यो हो, जसले आफ्नो जिम्मेवारीलाई केवल पदीय दायित्वका रूपमा मात्र नभई आफ्नो जीवनशैलीका रूपमा स्वीकार गर्छ” भन्दै पाण्डेले प्रशासनिक मूल्य–मान्यता, सेवाप्रतिको निष्ठा र संस्थाको हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरिएको छ ।

पाण्डे २०८१ असोज १ गतेदेखि २०८२ भदौ ९ गतेसम्म अर्जुनचौपारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । झण्डै एक वर्षको कार्यकालमा उनले पालिकाको प्रशासनिक सुधार, सेवा प्रवाहको प्रभावकारिता, विकास निर्माणका कार्यक्रमको समन्वय तथा सुशासन प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको गाउँपालिकाले जनाएको छ ।

उनको कार्यकालमा विभिन्न विकास योजनाको कार्यान्वयनलाई गति दिइएको, कर्मचारी र जनप्रतिनिधिबीच समन्वयात्मक वातावरण निर्माण गरिएको तथा संस्थागत सुशासनलाई बलियो बनाउने प्रयास भएको यहाँका जनप्रतिनिधिहरू बताउँछन् ।

नियमित कर्मचारी सरुवाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबार काठमाडौंमा सरुवा भएका पाण्डेलाई त्यतिबेला गाउँपालिकाले असल नेतृत्वकर्ता र साझा संयोजकका रूपमा विदाई गरेको थियो ।

पुरस्कार ग्रहणपछि आफ्नो कार्यकाल स्मरण गर्दै पाण्डेले अर्जुनचौपारीसँगको सम्बन्ध केवल कार्यालयसम्म सीमित नरहेको बताए ।

Kaushal-Pandey-Samman-ACRM-2083-1-1782225359.jpeg

“सरुवा भएर गए पनि अर्जुनचौपारी मेरो मन र सोचमा सदैव रहनेछ,” उनले भने, “यहाँका जनप्रतिनिधिहरू आगामी दिनमा अझ उच्च जिम्मेवारीमा पुगेर सहकार्य गर्ने अवसर पाऊन् भन्ने मेरो अपेक्षा छ ।”

२०७३ सालमा खरिदार पदबाट निजामती सेवामा प्रवेश गरेका पाण्डेले अर्जुनचौपारीमा रहँदा विकास र प्रशासनबीच सन्तुलन कायम गर्ने प्रयास गरेको उनका सहकर्मीहरू बताउँछन् ।

पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पाण्डेको योगदानलाई ‘अतुलनीय’ भन्दै प्रशंसा गरे ।

“प्रशासनिक क्षेत्र मात्र नभई विकासका सबै खण्डमा पाण्डेले देखाउनुभएको सक्रियता अर्जुनचौपारीका लागि प्रेरणादायी छ,” अध्यक्ष तिवारीले भने, “पहिलो कर्मथलो भएर पनि उहाँको विकासप्रतिको चिन्ता असाधारण रह्यो ।”

उनले पाण्डेले सधैं साझा व्यक्तिको भूमिकामा रहेर सबै पक्षलाई समेट्दै काम गरेको उल्लेख गर्दै गाउँपालिकाले उनको योगदानलाई लामो समयसम्म स्मरण गरिरहने बताए ।

एक वर्षअघि सरुवा भइसकेका कर्मचारीलाई पुनः सम्झिएर सम्मान गरिएको यो निर्णयलाई योगदानको कदर गर्ने संस्कृतिको उदाहरणका रूपमा हेरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update