Syangja Dainik Media
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

स्याङ्जाको म्हाँजु भञ्ज्याङ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, हिमश्रृंखलाको मनोरम दृश्य, पर्यापर्यटनका पूर्वाधार र सहज सडक पहुँचका कारण यहाँ दैनिक सयौँ तथा बिदाका दिन झन्डै एक हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।

दक्षिण एसियाकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारी होमस्टे जाने मूल सडक किनारमा अवस्थित म्हाँजु भञ्ज्याङमा शनिबार–आइतबार दुई दिन सार्वजनिक बिदाको व्यवस्था लागू भएपछि आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ ।

आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि पर्यापर्यटनमार्फत स्थानीयलाई रोजगारीसँग जोड्ने उद्देश्यले यहाँ योजनाबद्ध रूपमा पूर्वाधार विकास गरिएको हो । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजनासँगको साझेदारीमा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएपछि यस क्षेत्रको आकर्षण थप बढेको उनले बताए ।

Majhu-Bhanjyang--_3-1782557394.jpg

समुन्द्री सतहबाट करिब १९ सय मिटर उचाइमा रहेको रमणीय गन्तव्य म्हाँजु भञ्ज्याङमा पर्यापर्यटन उद्यान, स्वागतद्वार, झुला, प्रतीक्षालय, सेल्फी प्वाइन्ट, तीनवटा विश्रामस्थल, १९५ मिटर लामो फुट ट्रेल तथा आराम गर्ने स्थान निर्माण गरिएको छ । यहाँबाट सफा मौसममा धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लाङटाङ हिमश्रृंखलासहित पञ्चासे, कोरीलगायतका पदमार्गको दृश्य सहजै अवलोकन गर्न सकिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै स्थानीय मौलिक स्वादका परिकार उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनको बिक्रीका लागि कोसेलीघर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । आगन्तुकले घरेलु तथा स्थानीय उत्पादन खरिद गर्ने क्रमसमेत बढ्दै गएको छ ।

आँधीखोला गाउँपालिका र स्थानीय युवाहरुको साझेदारीमा झन्डै एक करोड रुपैयाँ लागतमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । सार्वजनिक जमिनमा बनेका संरचना भाडामा दिएर ‘इको स्टे’ सञ्चालन गरिएको वडा नम्बर १ का अध्यक्ष पवनकाजी अधिकारीले बताए । उनका अनुसार इको स्टेमार्फत स्थानीय १० जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

अधिकारीका अनुसार नयाँ वर्ष, चाडपर्व, सार्वजनिक बिदा तथा विशेष अवसरमा यहाँ आउने पर्यटकको संख्या उल्लेख्य रहने गरेको छ । पर्यटकको आगमनसँगै आसपासका क्षेत्रमा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएका छन् भने स्थानीय उत्पादनले पनि बजार पाउन थालेको छ ।

म्हाँजु भञ्ज्याङसँगै रहेका नेपालकै पहिलो नवग्रह मन्दिर, डहरेदेउराली, खर्सुको लेक, थाप्ले र दरौं क्षेत्रलगायतका ग्रामीण पर्यटकीय क्षेत्रसमेत घुम्न आउने पर्यटकको संख्या बढ्दो छ । पर्यटकले स्थानीय पदमार्गमा घण्टौँ ट्रेकिङ गर्नुका साथै ग्रामीण जीवनशैली अवलोकन गर्ने र स्थानीय परिकारको स्वाद लिन रुचाउने गरेका छन् ।

Majhu-Bhanjyang___2-1782557393.jpg

सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा खण्डअन्तर्गत भालुपहाड हुँदै नागडाँडाबाट छोटो दूरीमा पुग्न सकिने यस गन्तव्यमा नागडाँडा–पञ्चमूल सडक कालोपत्रे भएपछि यात्रा थप सहज बनेको स्थानीयको भनाइ छ । पोखराबाट करिब ४४ किलोमिटर दूरीमा रहेको यस स्थानमा सवारीसाधनबाट करिब एक घण्टामै पुग्न सकिन्छ ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रविन्द्रमान श्रेष्ठले भारतीय सीमा सुनौली हुँदै बुटवल–पोखरा यात्रा गर्ने भारतीय पर्यटकलाई स्याङ्जाका ग्रामीण पर्यटकीय क्षेत्रमा आकर्षित गर्न सकिए स्थानीय रोजगारी, आयआर्जन र आर्थिक गतिविधिमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update