Syangja Dainik Media
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३ वटा सीसीटीभी क्यामेरा जडान गरी प्रहरी चौकी अर्जुनचौपारीलाई हस्तान्तरण गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वय र दरौंखोला युवा परिवारको सहयोगमा बजारका मुख्य स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको हो । शनिबार आयोजित कार्यक्रममा ती क्यामेरा प्रहरी चौकी अर्जुनचौपारीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका–१ का वडाध्यक्ष रणबहादुर थापाले प्रविधिको प्रयोगले स्थानीय तहको सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । समुदाय र प्रहरीबीचको सहकार्यबाट सार्वजनिक स्थान सुरक्षित हुने, अपराध नियन्त्रणमा सहजता आउने र नागरिकमा सुरक्षा अनुभूति बढ्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले शान्ति–सुरक्षा कायम गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । सीसीटीभी क्यामेराले आपराधिक गतिविधिको निगरानी, घटनाको अनुसन्धान तथा प्रमाण सङ्कलनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले प्रविधिमैत्री प्रहरी सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

यस्तै, दरौंखोला युवा परिवारका सचिव विष्णुप्रसाद पौडेल ‘सारस’ले सामाजिक उत्तरदायित्वअन्तर्गत बजार क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सीसीटीभी जडानमा सहयोग गरिएको बताए । आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै यस्ता सामाजिक तथा सुरक्षामूलक कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

प्रहरी चौकी अर्जुनचौपारीका प्रमुख प्रहरी सहायक निरीक्षक रामबहादुर रिमालले जडान गरिएका सीसीटीभी क्यामेराले बजार क्षेत्रको २४सै घण्टा प्रभावकारी निगरानी गर्न सहयोग पुग्ने बताए । यसबाट आपराधिक गतिविधि नियन्त्रण, घटनाको अनुसन्धान र आवश्यक प्रमाण सङ्कलनमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले नागरिकको सुरक्षाका लागि प्रविधिको अधिकतम उपयोग गरिने जानकारी दिए ।

स्थानीयवासीले पनि बजार क्षेत्रमा सीसीटीभी जडान भएसँगै शान्ति–सुरक्षा थप मजबुत हुने, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने र सर्वसाधारणमा सुरक्षा अनुभूति बढ्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update