Syangja Dainik Media
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

स्याङ्जा जिल्लामा एचआईभी संक्रमितको संख्या तीन सय ४४ पुगेको छ । संक्रमितमध्ये एक सय ८० जना महिला र एक सय ६२ जना पुरुष रहेका छन्, जुन कास्कीपछि प्रदेशकै दोस्रो ठूलो संख्या हो ।

चालू आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) सेवा लिइरहेका संक्रमितको तथ्याङ्कअनुसार जिल्लाका ११ स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमित वालिङ नगरपालिकामा रहेका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्याङ्कअनुसार वालिङ नगरपालिकामा ७६ जना संक्रमित उपचारमा छन् । त्यस्तै, पुतलीबजार नगरपालिका र चापाकोट नगरपालिकामा समान ४६/४६ जना, भीरकोट नगरपालिकामा ४१ जना, गल्याङ नगरपालिकामा ४० जना, कालीगण्डकी गाउँपालिकामा २२ जना, बिरुवा गाउँपालिकामा १३ जना, फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकामा समान ८/८ जना तथा हरिनास गाउँपालिकामा चार जना संक्रमितले नियमित एआरटी सेवा लिइरहेका छन् । यसबाहेक अन्य जिल्लाबाट आएर स्याङ्जामा उपचार गराइरहेका ३२ जना पनि एआरटी सेवामा आबद्ध छन् ।

एआरटी सेवामा रहेका ३४४ संक्रमितमध्ये १८ वर्षमुनिका एक बालिका र एक बालक गरी दुई जना बालबालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । ती दुवै पुतलीबजार नगरपालिकाका हुन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका ल्याब टेक्निसिएन अधिकृत तथा एचआईभी कार्यक्रमका फोकल पर्सन पृथ्वी लामिछानेले पछिल्ला वर्षहरूमा संक्रमितहरू नियमित उपचारको पहुँचमा आउन थालेको बताए । "एचआईभी संक्रमण पहिचान भएपछि समयमै एआरटी सेवा सुरु गर्दा संक्रमितले सामान्य जीवनयापन गर्न सक्छन् । त्यसैले संक्रमण लुकाउनेभन्दा परीक्षण, परामर्श र नियमित उपचारमा जोडिनु सबैभन्दा महत्वपूर्ण पक्ष हो," उनले भने ।

उनका अनुसार एचआईभी नियन्त्रणका लागि नियमित परीक्षण, समयमै उपचार र सुरक्षित यौन व्यवहार सबैभन्दा प्रभावकारी उपाय हुन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख जनस्वास्थ्य प्रशासक राम बहादुर नेपालीले एचआईभी नियन्त्रणका लागि उपचारसँगै सचेतना र सुरक्षित व्यवहारलाई सँगसँगै अघि बढाउनुपर्ने बताए ।

"एचआईभी अब उपचार नहुने रोग होइन । समयमै परीक्षण, नियमित औषधि सेवन र सामाजिक विभेद अन्त्य गर्न सकियो भने संक्रमितले सहज रूपमा जीवन बिताउन सक्छन् । नयाँ संक्रमण रोकथामका लागि सुरक्षित यौन व्यवहार, नियमित परीक्षण र समुदायस्तरमा जनचेतना अभिवृद्धि अपरिहार्य छ," उनले भने ।

उनले समुदायमा एचआईभीप्रति रहेको भ्रम हटाउँदै परीक्षण र परामर्श सेवामा पहुँच बढाउन स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकीको तथ्याङ्कअनुसार वैशाखसम्म गण्डकी प्रदेशमा तीन हजार १७१ जना एचआईभी संक्रमित उपचारमा रहेका छन् ।

तीमध्ये सबैभन्दा धेरै कास्कीमा एक हजार ६२९ जना छन् भने स्याङ्जा ३४४ संक्रमित उपचारमा रहेका छन् । त्यसपछि तनहुँमा २६०, गोरखामा २४०, बागलुङमा २१८, नवलपरासी (पूर्व) मा १६२, लमजुङमा १३९, म्याग्दीमा ९५ र पर्वतमा ८४ जना संक्रमित एआरटी सेवामा आबद्ध छन् ।

स्वास्थ्यकर्मीका अनुसार कण्डम परिवार नियोजनको साधन मात्र नभई एचआईभी तथा अन्य यौनजन्य संक्रमणबाट बच्ने प्रभावकारी उपाय हो । त्यसैले यसको प्रयोग र सहज उपलब्धतालाई बढाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

स्याङ्जामा पनि सुरक्षित यौन व्यवहार प्रवर्द्धनका लागि सरकारी स्वास्थ्य संस्थामार्फत कण्डम वितरण गरिरहेको जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयले एचआईभी संक्रमणबारे भ्रममा नपरी जोखिमपूर्ण व्यवहार भएका व्यक्तिलाई स्वेच्छिक परीक्षण गराउन र संक्रमण पुष्टि भएमा नियमित एआरटी सेवामा आबद्ध हुन आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update