स्याङ्जा भन्नेबित्तिकै धेरैको मनमा सुन्तलाको स्वाद आउँछ । तर जिल्लाको पहिचान यही सुन्तला अब फलका रूपमा मात्रै सीमित रहने छैन । लामो समयदेखि फालिने सुन्तलाको बोक्रालाई उपयोग गर्दै यहाँ पहिलोपटक सौन्दर्य सामग्रीका रूपमा पनि बजारमा पुग्न थालेको छ ।
स्थानीय स्रोत तथा उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै उद्यम, रोजगारी र स्वदेशी ब्रान्ड निर्माण गर्ने उद्देश्यका साथ पुतलीबजार नगरपालिका–३ बाड्खोलास्थित अन्जु कस्मेटिक एण्ड ब्युटी होमले सुन्तलाको फेस प्याक र विभिन्न आयुर्वेदिक साबुनको उत्पादन तथा बजारीकरण सुरु गरेको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, स्याङ्जाको सहयोगमा सञ्चालित युवा उद्यमशीलता कार्यक्रमअन्तर्गत बिहीबार उत्पादनको औपचारिक शुभारम्भ गरिएको हो । पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले सुन्तलाको बोक्राबाट तयार गरिएको फेस प्याक तथा सुन्तला, तितेपाती र निमपातबाट बनाइएका नुहाउने साबुनको उद्घाटन गर्दै बजारमा ल्याइन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले खेर गइरहेका स्थानीय स्रोतलाई उपयोग गरेर नयाँ उत्पादन तयार गर्नु प्रशंसनीय प्रयास भएको बताइन् ।
‘स्याङ्जामा सुन्तला, तितेपाती र निमजस्ता कच्चा पदार्थको अभाव छैन । यस्ता प्राकृतिक सामग्रीबाट बनेका स्वास्थ्यमैत्री उत्पादनको प्रयोग बढाउनुपर्छ । तीन जना महिलाले थालेको यो अभियानलाई सबैले साथ दिए यसले राम्रो सम्भावना बोकेको छ,’ उनले भनिन् ।
अन्जु कस्मेटिक एण्ड ब्युटी होमकी सञ्चालिका अन्जु शर्मा रेग्मीले स्थानीय उत्पादनलाई नयाँ पहिचान दिने उद्देश्यले यो यात्रा सुरु गरेको बताइन् ।
‘हामीले स्याङ्जाको पहिचानलाई नयाँ रूपमा बजारसम्म पुर्याउने प्रयास गरेका छौं । स्थानीय स्रोत, सीप र आयुर्वेदिक ज्ञानलाई जोडेर गुणस्तरीय उत्पादन तयार गरेका छौं । यसले कृषक, महिला र युवालाई उद्यमसँग जोड्ने विश्वास लिएका छौं,’ उनले भनिन् ।
उनका अनुसार स्थानीय उत्पादनको उचित उपयोग र स्वदेशी ब्रान्डप्रतिको विश्वास बढ्दै गए ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुने र स्थानीय अर्थतन्त्र बलियो बन्ने अपेक्षा गरिएको छ ।
उत्पादनको पहिलो चरणमा सुन्तलाको फेस प्याक, सुन्तलाको नुहाउने साबुन, तितेपातीको नुहाउने साबुन र निमपातको नुहाउने साबुन बजारमा ल्याइएको छ । रेग्मीसहित मिरा मल्ल र शर्मिला कुँवर तीन जना महिलाको संयुक्त एएमएस आयुर्वेदिक टिमले आगामी दिनमा स्थानीय जडीबुटी र कृषि उत्पादनमा आधारित थप आयुर्वेदिक सामग्री उत्पादन गर्ने तयारी गरेको जनाएको छ ।
स्थानीय उत्पादनलाई ‘खेतदेखि बजारसम्म र उत्पादनदेखि ब्रान्डसम्म’ जोड्ने लक्ष्यसहित सुरु गरिएको यो प्रयासले स्याङ्जाको सुन्तलालाई नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ । कृषकको उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै स्थानीय उद्यम र आत्मनिर्भरताको नयाँ उदाहरणका रूपमा यसलाई हेरिएको छ ।







