दुई दिनदेखि लगातार परेको वर्षाले स्याङ्जामा जनधनको क्षति बढाएको छ । पुतलीबजार नगरपालिका–१२ पेल्काचौरको बगरेमा मंगलबार बिहान आएको पहिरोले एक किसानको गोठ बगाउँदा तीन वटा चौपाया मरेका छन् ।
पहिरोले स्थानीय गुमान सिंह गुरुङको गोठ पूर्ण रूपमा पुरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गोठभित्र रहेका दुई वटा ब्याउने भैंसी र एउटा गोरु घटनास्थलमै मरेका छन् ।
गुरुङ केही वर्षअघि पोखराको बसाइँ छाडेर गाउँ फर्किएका थिए । गाउँमै कृषि र पशुपालनलाई जीवनको आधार बनाउने उद्देश्यले उनले मौरी, भैंसी, बाख्रा र गोरु पालन गर्दै आएका थिए । तर केही बेरको पहिरोले उनको वर्षौँदेखिको मेहनत र आशामा ठूलो धक्का पुर्याएको छ ।
स्थानीयका अनुसार लगातारको वर्षापछि माथिबाट खसेको पहिरोले गोठलाई पूर्ण रूपमा बगाएको हो । घटनापछि गाउँलेहरू क्षतिको विवरण संकलन र आवश्यक सहयोगका लागि जुटेका छन् । यस्तै, गल्याङ नगरपालिका–६ पिँडीखोलामा समेत वर्षाका कारण दुई घर र एक विद्यालयको भवनमा क्षति पुगेको छ ।
यता अविरल वर्षाका कारण जिल्लाका विभिन्न सडक पनि प्रभावित भएका छन् । पहिरो खस्दा वालिङ नगरपालिका–१२ स्थित बायाँटारी–सिर्सीकोट सडक र वालिङ–१४ स्थित वालिङ–हुवास पर्वत सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत भीरकोट नगरपालिका–४ स्थित छाङछाङदी र पुतलीबजार–४ स्थित रामकोस क्षेत्रमा खसेको पहिरो भने हटाएर यातायात सञ्चालनमा ल्याइएको छ । पुतलीबजार–११ स्थित जैसीडाँडामा र वालिङ–७ स्थित मिर्दी–चापाकोट भित्री सडक भने एकतर्फी रूपमा मात्रै सवारी आवागमन भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले अवरुद्ध सडक खुलाउने काम प्रहरी र स्थानीयवासीको सहयोगमा भइरहेको बताए ।
उनका अनुसार वर्षा नरोकिएकाले पहिरो खस्ने जोखिम अझै कायम रहेको छ । जोखिमयुक्त क्षेत्रमा सतर्क रहन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।





