Syangja Dainik Media
गोठमा काम गरिरहेका किसानमाथि पहिरो खस्यो, स्याङ्जामा एक जनाको मृत्यु

अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एक किसानको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्याङ नगरपालिका–६ बनपालेका ६५ वर्षीय धनबहादुर थापा आफ्नै गोठमा काम गरिरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । ढुंगा–माटोले बनेको खरले छाएको एकतले कच्ची गोठमाथि पहिरो खस्दा थापा गोठसहित पुरिएका थिए ।

प्रहरी बिहान नै घटनास्थल पुगेपछि स्थानीयवासीसँग मिलेर पहिरो पन्छाउने काम सुरु गरेको थियो । उद्धारका क्रममा धनबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

पहिरोले गोठमा बाँधिएको एक भैंसी पनि मरेको छ । त्यस्तै एउटा बंगुर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा आवश्यक मुचुल्का तथा थप अनुसन्धानको काम भइरहेको छ ।

यसअघि पनि केही दिनयताको लगातार वर्षाका कारण गल्याङ नगरपालिका–६ को पीडीखोला क्षेत्रमा दुई वटा घर र एक विद्यालयमा पहिरोले क्षति पुर्‍याएको थियो । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहेकाले यस क्षेत्रमा पहिरोको जोखिम अझ बढेको भन्दै स्थानीयवासी त्रसित बनेका छन् ।

यता प्रहरीले लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update