सिद्धार्थ राजमार्ग हुँदै यात्रुबाहक बसमा नियन्त्रित लागूऔषध बोकेर यात्रा गरिरहेका दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएपछि प्रहरीले लागूऔषध मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गए राति गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले नियमित सवारी जाँचका क्रममा बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग २ ख १९५२ नम्बरको यात्रुबाहक बस रोकेको थियो ।
चेकजाँचका क्रममा बसमा सवार कास्कीको पोखरा महानगरपालिका–५ निवासी ४० वर्षीय नरेन्द्र आचार्य र सोही ठाउँका ३४ वर्षीय सुरज प्याकुरेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट बुप्रेनोर्फिन ३१ एम्पुल, फेनेरगन ३० एम्पुल, डाइजेपाम २९ एम्पुल, एउटा सिरिन्ज र दुई वटा मोबाइल फोन बरामद गरिएको छ । बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषधको स्रोत, ओसारपसारको उद्देश्य तथा यसमा संलग्न अन्य व्यक्तिको पहिचानका लागि समेत अनुसन्धान अगाडि बढाएको जनाएको छ ।





