Syangja Dainik Media
राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुल निर्माण
तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

गण्डकी र लुम्बिनी दुई प्रदेश जोड्ने कालीगण्डकी नदीमाथि स्याङ्जा–पाल्पा जिल्लाको सिमाना राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । निर्माणको मुख्य काम सकिएसँगै अब केही सामान्य फिनिसिङ र पुलका दुवै छेउका अवरोध हटेपछि सवारीसाधन सञ्चालनमा ल्याइने तयारी गरिएको छ ।

पुल सेक्टर पोखराका अनुसार रामनदी (राम्दी) मा बनेको यो पुल ‘कङ्क्रिट फिल स्टिल ट्युब आर्च ब्रिज (टाइड आर्च)’ प्रविधिमा आधारित हो । पुलको डिजाइन थाइल्यान्डका डिजाइनरले तयार गरेका हुन् । यस्तै प्रकारका पुल भुटान, चीन र दुबईमा भए पनि नेपालमा भने पहिलो पटक निर्माण गरिएको हो ।

Model-'Tide-Arch'-bridge-in-Ramdi-2-1784342575.jpg

एक स्पानमा निर्माण गरिएको पुल १२० मिटर लामो र ११ मिटर चौडा छ । पुल सेक्टर पोखराका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार नयाँ पुल २०२८ सालमा निर्माण गरिएको पुरानो ट्रस पुलभन्दा २७ मिटर लामो छ ।

यो पुल निर्माणका लागि २०७९ असार ३० गते हिम सगरमाथा प्रालि, चितवनसँग तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर डिजाइन तयार हुन ढिलाइ हुनु, भारतबाट निर्माण सामग्री र चीनबाट आवश्यक प्राविधिक विज्ञ समयमै उपलब्ध हुन नसक्दा निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन ।

निर्माण कम्पनीसँग २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँमा सम्झौता भएको थियो । हाल पुलमा दुवै साइडका केही सामान्य निर्माण कार्य र रङरोगन मात्रै बाँकी रहेको प्रमुख अधिकारीले बताए ।

उनका अनुसार पुरानो ट्रस पुल जीर्ण बन्दै जाँदा विशेषगरी भारी सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो । नयाँ पुल भने ७० मेट्रिक टन भार क्षमताको भएकाले ठूला मालवाहक सवारीसाधनसमेत सहज रूपमा सञ्चालन गर्न सकिनेछ ।

निर्माण सम्पन्न गर्न सुरुमा तीन वर्षको समय तोकिएको भए पनि काम सम्पन्न गर्न असार २७ सम्म एक वर्ष म्याद थप गरिएको थियो ।

यद्यपि पुल सञ्चालनअघि दुवै छेउमा रहेका केही घर हटाउन बाँकी रहेको छ । ती संरचना व्यवस्थापनको काम सम्पन्न भएपछि करिब एक महिनाभित्र नयाँ पुलबाट नियमित सवारी आवागमन सुरु गर्ने तयारी रहेको अधिकारीले जानकारी दिए ।

राम्दीमा रहेको पुरानो ट्रस पुल सिद्धार्थ राजमार्ग निर्माणसँगै २०२२ सालमा बनाउन थालिएको थियो । करिब छ वर्षपछि २०२८ सालमा निर्माण सम्पन्न भएको उक्त पुलको उद्घाटन तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले गरेका थिए ।

पाँच दशकभन्दा बढी समयसम्म यही पुलले गण्डकी र लुम्बिनी प्रदेशबीचको मुख्य यातायात धाने पनि जीर्ण बन्दै गएपछि नयाँ पुल निर्माणको आवश्यकता महसुस गरिएको थियो ।

नयाँ पुल सञ्चालनमा आएपछि गण्डकी र लुम्बिनी प्रदेशबीचको यातायात थप सुरक्षित, सहज र प्रभावकारी हुने विश्वास गरिएको छ । साथै वर्षौंदेखि जीर्ण ट्रस पुलमा निर्भर रहनुपरेको समस्या पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।

DJI_0901-1536x864-1784342593.jpg

DJI_0940-1536x864-1784342593.jpg

DJI_0925-1536x864-1784342594.jpg

DJI_0908-1536x864-1784342594.jpg

DJI_0911-1536x864-1784342595.jpg

सबै तस्बिरहरू: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update