जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गत असार महिनामा जिल्लाभर भएका अपराध, विपद् व्यवस्थापन तथा शान्ति सुरक्षासम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार असार महिनामा २७ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने लागूऔषध, चोरी, बहुविवाह, सार्वजनिक अपराधलगायतका मुद्दामा फरार प्रतिवादी पक्राउदेखि विपद् उद्धारसम्म प्रहरीले सक्रिय रूपमा काम गरेको जनाएको छ ।
प्रहरीका अनुसार असार महिनामा दर्ता भएका २७ मुद्दामध्ये तीन जघन्य तथा गम्भीर प्रकृतिका, छ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित, एक आर्थिक अपराध र १७ अन्य प्रकृतिका रहेका छन् । यस अवधिमा २१ जना प्रतिवादी पक्राउ परेका छन् ।
फैसला कार्यान्वयनतर्फ चोरी, लागूऔषध, सार्वजनिक अपराध, बहुविवाह र लेनदेन मुद्दाका गरी सात जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट एक वर्ष तीन महिना २६ दिन कैद सजाय कार्यान्वयन गरिनुका साथै तीन लाख २८ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित दुई उजुरी दर्ता भएका छन् । चार जना पीडित रहेको ती घटनामा पीडितको उमेर ३७ र ४५ वर्ष साथै पीडकको उमेर ३९, ४०, ५५ र ५७ वर्ष रहेको विवरणमा उल्लेख छ ।
हराएका तथा फेला परेकाको विवरणअनुसार असारमा पाँच महिला, तीन पुरुष र तीन बालबालिका गरी ११ जना हराएको निवेदन परेको थियो । त्यसमध्ये तीन महिला, दुई पुरुष र दुई बालबालिका गरी सात जना फेला पारिएको प्रहरीले जनाएको छ ।
घरेलु हिंसाका दुई उजुरी दर्ता भएका छन् । तीमध्ये एक शारीरिक र एक मानसिक तथा आर्थिक हिंसासँग सम्बन्धित छन् । दुवै उजुरी मिलापत्रमार्फत टुंग्याइएको प्रहरीले जनाएको छ । पुतलीबजार र वालिङ नगरपालिकामा घरेलु हिंसाका घटना तुलनात्मक रूपमा बढी देखिएको विवरणमा उल्लेख छ ।
उजुरी व्यवस्थापनतर्फ प्रहरी कार्यालयमा प्रत्यक्ष ३० वटा निवेदन परेकोमा २८ वटा फर्छ्योट गरिएको छ ।
असार महिनामा चार जनाले आत्महत्या गरेको विवरण पनि सार्वजनिक गरिएको छ । झुन्डिएर तीन र आगो लगाएर एक जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा एक महिला र तीन पुरुष रहेका छन् । उमेर समूहअनुसार एक जना १९ देखि ४० वर्ष, एक जना ४१ देखि ६० वर्ष र दुई जना ६० वर्षभन्दा माथिका छन् ।
प्रहरीले असार महिनाका प्रमुख घटनामध्ये पुतलीबजार नगरपालिका–२ दुर्गानगरबाट चोरी भएको मोटरसाइकल प्रकरणमा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । यस्तै गल्याङ नगरपालिका–१ राम्दीमा यात्रुवाहक बसबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको घटनालाई पनि प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।
दुई जनालाई नियन्त्रणमा लिएर ३१ एम्पुल बुप्रेनोर्फिन, ३० एम्पुल फेनरगन र २९ एम्पुल डाइजेपाम बरामद गरिएको छ । यसै घटनामा उनीहरुविरुद्ध लागूऔषध मुद्दाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
अपराध नियन्त्रणका लागि तालिमप्राप्त कुकुरसहित स्वीप अपरेसन सञ्चालन, पर्यटकका लागि सुरक्षा र सहजीकरणसम्बन्धी जानकारी दिने क्यूआर कोड सार्वजनिक, रात्रीकालीन गस्ती वृद्धि, लागूपदार्थ सेवन चेकिङ, सरकारी कार्यालयहरुमा बिचौलियामुक्त बनाउने अभियान, लागूऔषध, अवैध मदिरा, घरेलु हिंसा तथा अन्य अपराधविरुद्ध नियमित अनुगमन र कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
उनका अनुसार समुदाय, विद्यालय, आमा समूह, युवा क्लब तथा स्थानीय संस्थासँग समन्वय गरी आत्महत्या न्यूनीकरण, विभिन्न अपराथसँग सम्बन्धित सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
शान्ति सुरक्षातर्फ असार महिनाभर ३८४ वटा पिकेट ड्युटी, ३८४ चेकिङ, ११६ ग्रामीण गस्ती, तीन एलआरपी र ९१० एसआरपी सञ्चालन गरी कुल एक हजार ७५१ सुरक्षा गतिविधि सञ्चालन गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।
सवारी दुर्घटनातर्फ दुई दुर्घटना भएका छन् । दुवै दुर्घटनामा प्रहरी उद्धारमा खटिएको थियो । चेकजाँचका क्रममा एक हजार ४९२ सवारी साधनमाथि कारबाही गरी १३ लाख तीन हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको छ । अधिकांश दुर्घटना ब्रेक फेल र पार्टपुर्जासम्बन्धी प्राविधिक समस्याका कारण भएको विश्लेषण प्रहरीले गरेको छ ।
भन्सार तथा राजस्व छलीतर्फ दुई लाख दुई हजार ९९४ रुपैयाँ बराबरका मोटर पार्ट्स बरामद गरिएको छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिई २३ हजार रुपैयाँ जरिवाना गरिएको छ । मापदण्डविपरीत पशुपन्छी ओसारपसारमा संलग्न दुई सवारी साधनमाथि मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ ।
विपद् व्यवस्थापनतर्फ असार महिनामा २० वटा बाढी–पहिरो, दुई आगलागी, एक चट्याङ र दुई अन्य प्रकृतिका गरी २५ घटनामा प्रहरी परिचालन भएको थियो । बाढीपहिरोमा एक र आगलागीमा एक गरी दुई जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत असार महिनामा १४८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । साइबर अपराध, सडक सुरक्षा, लागूऔषध, बालविवाह, घरेलु हिंसा, विपद् व्यवस्थापन, मानव बेचबिखन, जातीय भेदभाव, तनाव व्यवस्थापन, बाल यौन दुर्व्यवहार, ज्येष्ठ नागरिक सचेतना लगायतका विषयमा दुई हजार ७०४ जनालाई सहभागी गराएर कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
यस अवधिमा प्रहरी कार्यालयबाट २३ वटा नागरिकता तथा हातहतियार नवीकरणसम्बन्धी सिफारिस प्रदान गरिएको छ । प्रहरी हटलाइन तथा टेलिफोनमार्फत ७४१ वटा कल प्राप्त भएको र नागरिक सहायता कक्षबाट एक हजार छ जना सेवाग्राहीले सेवा लिएका छन् ।
प्रहरीले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक सहायता कक्ष सञ्चालन, प्रहरी कर्मचारीको मनोबल बढाउन हाइकिङ, वनभोज, योगजस्ता कार्यक्रम सञ्चालन तथा जिल्लामा आउने र स्याङ्जा जिल्ला हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी नेपाली र अंग्रेजी भाषामा अडियोसहितको क्यूआर कोड प्रणालीसमेत कार्यान्वयनमा ल्याएको जनाएको छ । साथै स्मार्ट टिभीमार्फत सेवाग्राहीलाई विभिन्न जनचेतनामूलक सन्देश प्रवाह गर्ने व्यवस्था पनि सुरु गरिएको प्रहरीले जनाएको छ ।




