Syangja Dainik Media
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तीन महिनामा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी तथा विभिन्न प्रशासनिक सेवामार्फत हजारौं सेवाग्राहीलाई सेवा दिएको जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको २०८३ वैशाख १ देखि असार मसान्तसम्मको प्रगति विवरणअनुसार यस अवधिमा प्रतिलिपी बाहेक पाँच हजार ९३६ वटा नागरिकता वितरण गरिएको छ भने २५ जनाले नागरिकता परित्याग गरेका छन् । यो तथ्यांकमा इलाका प्रशासन कार्यालय वालिङबाट प्रदान गरिएका सेवा पनि समावेश छन् ।

सोही अवधिमा १० जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् भने १४ जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको छ । यस्तै, नागरिकताको प्रतिलिपि ८ हजार ९४७ जनालाई वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत २६ हजार १६२ जनाको विवरण संकलन गरिएको छ । यस अवधिमा १३ हजार २९१ जनालाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण समेत गरिएको छ । पुराना नागरिकताको अभिलेखीकरण कार्य भने सबै सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।

राहदानी सेवातर्फ ७ हजार ८९५ जनालाई राहदानीका लागि सिफारिस गरिएको छ भने ७ हजार ५९० जनाले राहदानी प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा असार मसान्तसम्म ३२ वटा गुनासो तथा उजुरी दर्ता भएका छन् । यस्तै, पारिवारिक पेन्सन, शपथपत्र तथा रहलपहलसम्बन्धी एक हजार ५५१ वटा सिफारिस तथा प्रमाणीकरण गरिएको छ । ५०१ जनालाई नाबालक परिचयपत्र उपलब्ध गराइएको सहायक प्रजिअ सुवेदीले बताए ।

यस अवधिमा २७ वटा संस्था दर्ता भएका छन् भने २५२ वटा संस्थाको नवीकरण गरिएको छ । नौ वटा संस्थाले विधान संशोधन गरेका छन् । एक वटा पत्रपत्रिका दर्ता भएको छ ।

हातहतियार व्यवस्थापनतर्फ एक जनाले नामसारी गरेका छन् भने ७३ वटा हातहतियार नवीकरण गरिएको छ ।

विपद् व्यवस्थापनतर्फ कार्यालयले विपद् प्रभावितलाई ६३ लाख ८० हजार रुपैयाँ राहत वितरण गरेको जनाएको छ । द्वन्द्वपीडितलाई चार लाख ७६ हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई २२ लाख ६ हजार ७०८ रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ ।

सार्वजनिक अपराधसम्बन्धी ३६ वटा मुद्दा दर्ता तथा कारबाहीको प्रक्रियामा रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा माथिल्लो निकायबाट प्राप्त १२ वटा उजुरीमाथि पनि आवश्यक प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

बजार अनुगमनतर्फ तीन महिनामा १२ पटक अनुगमन गरिएको छ भने विकास आयोजनाको नियमित निरीक्षण गरिएको प्रशासनले जनाएको छ । विपद्का समयमा प्रभावित क्षेत्रको स्थलगत अनुगमन पनि निरन्तर गरिएको उल्लेख छ ।

एकीकृत घुम्ती शिविर भने यस अवधिमा सञ्चालन हुन सकेन । सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना नभए पनि सेवाग्राही सन्तुष्टि स्तरको मापन कार्य निरन्तर भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update