Syangja Dainik Media
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

स्याङ्जामा असार मसान्तसम्म धान रोपाइँ ८२.२९ प्रतिशत क्षेत्रफलमा सम्पन्न भएको छ । जिल्लाका अधिकांश उत्तरी भेगमा रोपाइँ सकिए पनि दक्षिण–पश्चिमी क्षेत्रका केही फाँटमा भने अझै रोपाइँ जारी छ ।

कृषि विकास कार्यालय स्याङ्जाका अनुसार यस वर्ष जिल्लामा धान रोपाइँ हुने अनुमानित १३ हजार ६८५ हेक्टर क्षेत्रफलमध्ये ११ हजार २५० हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।

कार्यालयका कृषि अधिकृत नारायण पाठकका अनुसार कालीगण्डकी नदी आसपासका चापाकोट र गल्याङ नगरपालिकाका फाँट, ज्याग्दीखोला तथा आँधीखोला किनारका केही क्षेत्रमा अहिले पनि किसान रोपाइँमा व्यस्त छन् ।

उनका अनुसार स्याङ्जाको उत्तरी भेगमा असारभित्रै रोपाइँ सम्पन्न गर्ने परम्परा रहेकाले त्यहाँ काम सकिएको हो । तर दक्षिण–पश्चिमी क्षेत्रमा साउनको मध्यसम्म पनि रोपाइँ गर्ने चलन रहेकाले केही ठाउँमा अझै खेत रोप्ने काम जारी छ ।

कृषि प्राविधिकबाट प्राप्त विवरणका आधारमा जिल्लाभर औसतमा ८२.२९ प्रतिशत रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ । मौसम अनुकूल रहेकाले बाँकी क्षेत्रको रोपाइँ पनि केही दिनभित्रै सकिने अपेक्षा गरिएको कृषि अधिकृत पाठकले बताए ।

यस वर्ष निरन्तर वर्षा भइरहेकाले अधिकांश धानखेती क्षेत्रमा सिँचाइको समस्या नभएको कार्यालयको भनाइ छ । स्याङ्जाका चापाकोट टार, जिमुहा, पकान, डौँवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबास तथा आँधीखोला, ज्याग्दीखोला र दरौँखोला आसपासका क्षेत्र जिल्लाका प्रमुख धान उत्पादन पकेट मानिन्छन् ।

जिल्लामा पछिल्ला वर्षहरूमा उन्नत जातका धानप्रति किसानको आकर्षण बढ्दै गएको छ । अहिले रामधान, सावित्री, सुनौलो सुगन्ध, सामा मन्सुलीलगायत उन्नत जातका साथै च्याम्पियनजस्ता हाइब्रिड धानको खेती विस्तार हुँदै गएको कार्यालयले जनाएको छ ।

यद्यपि बढ्दो सहरीकरण, सडक विस्तार र घरघडेरी निर्माणका कारण खेतीयोग्य जमिन घट्दै गएको कृषि विकास कार्यालयले जनाएको छ । त्यसको प्रत्यक्ष असर धान रोपाइँ हुने क्षेत्रफलमा परेको छ भने वर्षेनी धान खेती हुने जमिन क्रमशः खुम्चिँदै गएको कार्यालयको निष्कर्ष छ ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update