अविरल वर्षाका कारण विपद्को जोखिम बढिरहेका बेला स्याङ्जा जिल्ला प्रशासन कार्यालयले पूर्वतयारीलाई तीव्र बनाएको छ । बाढी, पहिरो र डुबानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले रात्रीकालीन सवारी व्यवस्थापनदेखि जोखिमयुक्त बस्तीको निगरानीसम्मका काम अघि बढाएको छ ।
यही सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले विपद् व्यवस्थापन मात्र नभई सेवा प्रवाह, शान्ति सुरक्षा, सुशासन र जिल्लाको समग्र प्रशासनिक अवस्थाबारे धारणा राखेका छन् ।
सुवेदीले जिल्लामा नागरिकले सहज रूपमा सेवा पाउने वातावरण बनाउन आफूहरू निरन्तर लागिरहेको बताए । प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई छिटो, सरल र पारदर्शी सेवा दिन कर्मचारीलाई जिम्मेवार बनाइएको उनको भनाइ छ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाइ, समन्वय र अनुगमनलाई पनि नियमित बनाइएको उनले बताए ।
उनका अनुसार पछिल्लो समय प्राकृतिक विपद्का घटना बढेकाले सबै स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गरेर पूर्वतयारीका काम भइरहेको छ । जोखिमयुक्त स्थानको पहिचान, उद्धार सामग्रीको व्यवस्थापन, सूचना प्रणालीलाई सक्रिय बनाउने र नागरिकलाई समयमै सचेत गराउने कामलाई प्राथमिकतामा राखिएको उनले बताए ।
सहायक प्रजिअ सुवेदीले विपद् व्यवस्थापनमा सरकारी निकाय मात्र होइन, स्थानीय तह, राजनीतिक दल, सामाजिक संस्था र नागरिकको समेत उत्तिकै भूमिका रहने बताए । सम्भावित जोखिमको समयमा अनावश्यक यात्रा नगर्न, नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सतर्क रहन र प्रशासन तथा सुरक्षा निकायको सूचना पालना गर्न उनले आग्रह गरे ।
सेवा प्रवाहका क्रममा जिल्ला प्रशासन कार्यालयले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरण, सिफारिसलगायतका सेवामा सुधार ल्याएको उनको दाबी छ । डिजिटल प्रविधिको प्रयोग बढाउँदै सेवाग्राहीको समय बचत गर्ने प्रयास भइरहेको उनले बताए ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहसँग नियमित समन्वय भइरहेको सुवेदीले जानकारी दिए । लागूऔषध नियन्त्रण, सार्वजनिक अपराध न्यूनीकरण, सडक सुरक्षा, बजार अनुगमन तथा राजस्व चुहावट नियन्त्रणमा पनि प्रशासन सक्रिय रहेको उनले बताए ।
विकास निर्माणका काम समयमै सम्पन्न गराउन सम्बन्धित निकायसँग नियमित छलफल र अनुगमन भइरहेको उल्लेख गर्दै उनले आयोजना कार्यान्वयनमा देखिने समस्या समाधानका लागि प्रशासनले सहजीकरण गरिरहेको बताए ।
स्याङ्जामा पर्यटनको सम्भावना बढ्दै गएको उल्लेख गर्दै सुवेदीले पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए । जिल्लाका पर्यटकीय गन्तव्य, सडक अवस्था र आवश्यक जानकारी समेटिएको क्यूआर कोड प्रणालीसमेत सञ्चालनमा ल्याइएको जानकारी उनले दिए ।
उनका अनुसार नागरिक सहायता कक्षलाई थप प्रभावकारी बनाइएको छ भने गुनासो व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको छ । सेवा प्रवाहलाई जनमैत्री बनाउन कर्मचारीको उत्तरदायित्व बढाइएको र सुशासन कायम गर्ने दिशामा प्रशासन केन्द्रित रहेको उनको भनाइ छ ।
अन्त्यमा सहायक प्रजिअ सुवेदीले विपद्को जोखिम अझै कायम रहेकाले सबै नागरिकलाई सतर्क रहन, आधिकारिक सूचना मात्रै विश्वास गर्न र कुनै समस्या परे तुरुन्त प्रशासन वा सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरे । प्रशासनले नागरिकको सुरक्षा र सहज सेवाका लागि चौबीसै घण्टा आवश्यक समन्वय र तयारीका साथ काम गरिरहेको उनले बताए ।





