स्याङ्जामा पशुमा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा एक लाख ५५ हजार ५६ वटा पशुचौपायामा विभिन्न रोगविरुद्धको खोप लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, स्याङ्जाका अनुसार गाई, भैँसी, गोरु, राँगो, बाख्रा, भेडा, बंगुर, कुकुर र बिरालोलाई खोरेत, चरचरे, भ्यागुते, लम्की–स्कीन, साइन–फिभर, एचएस–बिक्यु, पिपिआर, बंगुर हैजा तथा रेविजलगायत रोगबाट जोगाउने उद्देश्यले निःशुल्क खोप अभियान सञ्चालन गरिएको हो ।
कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठका अनुसार सबैभन्दा धेरै पिपिआरविरुद्ध ९६ हजार ९३७ पशुमा खोप लगाइएको छ । त्यसपछि खोरेतविरुद्ध ४२ हजार ८४८, रेविजविरुद्ध आठ हजार ८१४, बंगुर हैजाविरुद्ध चार हजार ३१७ र एचएस–बिक्युविरुद्ध तीन हजार ४९० पशुचौपायामा खोप लगाइएको उनले जानकारी दिए ।
उनका अनुसार गाई, गोरु, भैँसी, राँगो तथा बंगुरमा खोरेत र एचएस–बिक्यु, बाख्रा तथा भेडामा पिपिआर, बंगुरमा हैजा तथा कुकुर र बिरालोमा रेविजविरुद्धको खोप लगाइएको हो ।

स्थानीय तहगत रूपमा हेर्दा सबैभन्दा धेरै वालिङ नगरपालिकामा २६ हजार ७८९ पशुचौपायाले खोप पाएका छन् । त्यसपछि गल्याङ नगरपालिकामा २२ हजार ५४२, कालीगण्डकी गाउँपालिकामा १९ हजार ५२८, भीरकोट नगरपालिकामा १७ हजार १५९, पुतलीबजार नगरपालिकामा १५ हजार १९५ र चापाकोट नगरपालिकामा १४ हजार ५०७ पशुचौपायामा खोप लगाइएको कार्यालयले जनाएको छ ।
यस्तै हरिनास गाउँपालिकामा ११ हजार ५०१, बिरुवा गाउँपालिकामा ११ हजार २६, फेदीखोला गाउँपालिकामा छ हजार ६९८, अर्जुनचौपारी गाउँपालिकामा छ हजार ५९८ तथा आँधीखोला गाउँपालिकामा चार हजार ८१३ पशुचौपायाले खोप सेवा पाएका छन् ।
नियमित रूपमा खोप कार्यक्रम सञ्चालन गरिएकै कारण जिल्लामा पशुमा देखिने संक्रामक रोगको संक्रमण र क्षति क्रमशः घट्दै गएको कार्यालयका प्रमुख डा. श्रेष्ठले बताए । उनले किसानलाई समयमै खोप लगाउन आग्रह गर्दै रोग नियन्त्रणमा खोप सबैभन्दा प्रभावकारी उपाय भएको बताए ।
खोप अभियानसँगै केन्द्रले पशु कल्याणसम्बन्धी कार्यक्रम पनि अघि बढाएको छ । गत आर्थिक वर्षमा छ वटा बिरालो र २२७ वटा कुकुर गरी २३३ जनावरको बन्ध्याकरण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पशुमा लगाइने सबै खोप नेपाल सरकारको निःशुल्क कार्यक्रमअन्तर्गत उपलब्ध गराइएको हो । त्यस्तै, सेवा प्रवाहका क्रममा कार्यालयका कर्मचारीको तलब तथा भत्तामा ७५ लाख ६ हजार ८०९ रुपैयाँ खर्च भएको डा. श्रेष्ठले जानकारी दिए ।
उनले पशुपालकलाई खोपको तालिका अनुसार आफ्ना पशुचौपायालाई नियमित रूपमा खोप लगाउन आग्रह गर्दै यसबाट पशु स्वास्थ्य संरक्षणसँगै किसानको आर्थिक क्षति न्यूनीकरणमा समेत उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे ।





