Syangja Dainik Media
गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले

स्याङ्जाको गल्याङ नगरपालिका–९ मा शनिबार बिहानै गाउँका युवा हातमा कोदालो, बेल्चा र हँसिया लिएर घरबाट निस्किन्छन् । उनीहरू कतै रोजगारीमा जाने हतारमा हुँदैनन्, न त कुनै निर्माण कम्पनीका मजदुर हुन् । उनीहरूको गन्तव्य हो- आफ्नै गाउँका सडक, पँधेरो, चौतारो, पार्क लगायतका सार्वजनिक स्थल ।

गल्याङ–९ का युवाहरुले केही महिनायता एउटा सानो तर अर्थपूर्ण अभ्यास सुरु गरेका छन् । उनीहरूले हरेक हप्ता केवल दुई घण्टा समय गाउँका लागि छुट्याउने गरेका छन् । यही दुई घण्टाको श्रमले वर्षायामले बिगारेका सडक मर्मत हुन्छन्, थुनिएका नाली खुल्छन्, सडकछेउका झाडी फाँडिन्छन् र गाउँ सफा बन्छ ।

गाउँबाट युवाहरू रोजगारी र उच्च शिक्षाको खोजीमा शहर तथा विदेश जाने क्रम निरन्तर बढिरहेको छ । गाउँमा काम गर्ने उमेरका मानिस कम हुँदै गएका छन् । यस्तो अवस्थामा गाउँका साझा काम कसले गर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक थियो । गल्याङ–९ का केही युवाले भने यसको उत्तर खोज्न कसैलाई पर्खेनन् । उनीहरूले आफैंबाट सुरुआत गरे ।

स्थानीय कमलप्रसाद खनालका अनुसार गाउँमा श्रम गर्न सक्ने जनशक्ति घट्दै गएको छ । बाँकी रहेका धेरैजसो ज्येष्ठ नागरिकका लागि सडक मर्मत वा सरसफाइजस्ता काम सहज छैनन् । त्यसैले गाउँको साझा जिम्मेवारी आफूहरूले लिनुपर्ने महसुस भएपछि श्रमदान अभियान सुरु गरिएको हो ।

‘हप्ताको दुई घण्टा मात्र छुट्याउँदा गाउँको धेरै काम हुने रहेछ,’ उनी भन्छन्, ‘यसले गाउँ सफा हुने मात्र होइन, हामीलाई शारीरिक व्यायाम पनि हुन्छ ।’

सहभागी सबैको समय सधैं नमिल्ने भए पनि सम्भव हुने युवाहरू नियमित रूपमा श्रमदानमा जुट्ने गरेका छन् । अधिकांश काम शनिबार वा आइतबार बिदाको दिन गरिन्छ, जसले सहभागी हुन सहज बनाएको छ ।

Galyang-9-Syangja-5-1784690375.jpg

वर्षायाम सुरु भएपछि ग्रामीण सडकमा लेदो थुप्रिने, नाली थुनिएर पानी सडकमै बग्ने र सडकछेउका झाडी बाक्लिँदा दुर्घटनाको जोखिम बढ्ने समस्या गाउँका लागि नयाँ होइन । अहिले भने ती समस्या समाधानका लागि स्थानीय सरकारको मात्र प्रतीक्षा गरिँदैन । युवाहरू आफैं सडकमा ओर्लिन्छन् । उनीहरूले सडकमा जमेको लेदो हटाउँछन्, पानीको निकास खुलाउँछन्, झाडी फाँड्छन् र बिग्रिएका गोरेटो तथा सडकका साना–तिना भाग मर्मत गर्छन् ।

सुरुआतमा युवाहरूको मात्रै अभियान अहिले पुस्ता जोड्ने अभियान बन्दै गएको छ । उनीहरूको सक्रियता देखेर गाउँका ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरु पनि श्रमदानमा सहभागी हुन थालेका छन् । कसैले काम गर्छन्, कसैले सुझाव दिन्छन्, कसैले हौसला थप्छन् । यसले अभियानलाई अझ जीवन्त बनाएको छ ।

Galyang-9-Syangja-2-1784690377.jpg

जलवायु सहजकर्ता अमृता खनालका अनुसार यो अभियानले गाउँ सफा राख्नुका साथै वर्षायाममा फैलिन सक्ने मौसमी रोगको जोखिम कम गर्न पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । उनका अनुसार वातावरणीय सरसफाइ र सामुदायिक सहभागिता सँगसँगै अघि बढ्दा त्यसको सकारात्मक प्रभाव दीर्घकालसम्म देखिनेछ ।

गल्याङ–९ को यो अभ्यासले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ–समुदायका सबै काम सरकारको मात्र जिम्मेवारी होइनन् । सार्वजनिक सम्पत्ति जोगाउने दायित्व नागरिकको पनि हो । सामान्य सरसफाइ वा साना मर्मतका लागि पनि राज्यकै मुख ताक्ने प्रवृत्तिबीच यी युवाले श्रमदानमार्फत सामुदायिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन् ।

दुई घण्टा धेरै समय होइन । तर जब त्यो दुई घण्टा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समुदायका लागि खर्च गरिन्छ, त्यसले सडक मात्र होइन, समाज पनि जोड्छ । गल्याङ–९ का युवाले यही कुरा आफ्नो श्रमबाट प्रमाणित गरिरहेका छन् ।

उनीहरूको यो अभियान अहिले एउटा गाउँमा सीमित छैन; यो अरू समुदायका लागि पनि प्रेरणादायी बन्दै गएको छ ।

Galyang-9-Syangja-3-1784690388.jpg

Galyang-9-Syangja-4-1784691414.jpg

Galyang-9-Syangja-6-1784691415.jpg

 

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update