Syangja Dainik Media
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

वैदेशिक रोजगारीबाट फर्किएका एक युवाले स्याङ्जामा बाँझो जमिनको उपयोग गर्दै संसारकै महँगा सुगन्धित वनस्पतिमध्ये एक मानिने अगरउडको व्यावसायिक खेती सुरु गरेका छन् ।

चापाकोट नगरपालिका–५ बिस्टारीका विपिन डोटेलले जिल्लामै पहिलोपटक परीक्षणका रूपमा अगरउड खेती थालेका हुन् ।

दुई वर्ष मलेसियामा रोजगारी गरेर स्वदेश फर्किएका डोटेलले आफ्नै पाँच रोपनी बाँझो जमिनमा अगरउडका बिरुवा रोपेर नयाँ सम्भावनाको खोजी गरेका हुन् । परम्परागत खेतीभन्दा फरक र उच्च मूल्य प्राप्त हुने बाली भएकाले यसको भविष्य राम्रो देखेर आफूले जोखिम मोलेको उनले बताए ।

अगरउड अत्तर, सौन्दर्य प्रसाधन तथा विभिन्न औषधिजन्य सामग्री उत्पादनका लागि प्रयोग हुने बहुमूल्य वनस्पति हो । परम्परागत औषधोपचारमा समेत यसको प्रयोग हुने गरेको छ । तनाव कम गर्न, शान्तिदायक औषधि बनाउन तथा अन्य उपचारमा यसको उपयोग हुने डोटेलले बताए ।

उनका अनुसार अगरउडले आर्थिक लाभमात्र होइन, वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउँछ । यसले कार्बन सञ्चयन, जमिन संरक्षण र बाँझो जमिनमा हरियाली विस्तार गर्न सहयोग गर्ने भएकाले फलफूल, घाँस तथा अन्य बालीसँग कृषि–वन प्रणालीमा समेत यसको खेती गर्न सकिन्छ ।

डोटेलले थाइल्यान्ड र भारतको आसामबाट तीन वर्षअघि २५० वटा बिरुवा ल्याएर रोपेका थिए । सुरुमा ५० वटा बिरुवा प्रतिवटा एक हजार रुपैयाँका दरले खरिद गरिएको थियो भने बाँकी २०० वटा बिरुवा प्रतिवटा पाँच सय रुपैयाँमा ल्याइएको उनले जानकारी दिए ।

अगरउड उत्पादनको प्रक्रिया सामान्य खेतीभन्दा फरक हुने उनले बताए । उनका अनुसार बिरुवा छदेखि आठ वर्ष पुगेपछि बोटमा साना प्वाल पारेर विशेष जैविक घोल (कल्टिभेटेड अगरउड किट) प्रयोग गरी कृत्रिम सङ्क्रमण गराइन्छ । त्यसपछि करिब दुई वर्षमा सुगन्धित ‘अगर’ उत्पादन हुन्छ ।

गुणस्तरअनुसार अन्तर्राष्ट्रिय बजारमा अगरउडको मूल्य प्रतिकिलो एक लाखदेखि ३० लाख रुपैयाँसम्म पुग्ने डोटेलको दाबी छ । जापान, सिङ्गापुर, अरबी मुलुक र अमेरिकालगायत देशमा यसको उच्च माग रहेकाले नेपालको पहाडी क्षेत्रमा पनि यसको राम्रो सम्भावना रहेको उनले बताए ।

अगरउड खेती सफल भए किसानको आम्दानी बढ्नुका साथै स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उनको विश्वास छ । परम्परागत खेतीबाट निराश भएर खेतीयोग्य जमिन बाँझै छाड्ने प्रवृत्तिका बीच यस्ता बहुमूल्य जडीबुटीको खेतीले कृषिमा नयाँ सम्भावना देखाएको उनले बताए ।

डोटेलले अगरउडसँगै ८० रोपनी क्षेत्रफलमा आँप, लिची, एभोकाडो, रुद्राक्ष, बयर, कफी र ड्रागन फ्रुटको व्यावसायिक खेती पनि गरिरहेका छन् । त्यसैगरी उनले एक सय बोयर जातका बाख्रा पालनसमेत गरेका छन् ।

कृषि व्यवसाय विस्तारका लागि सहकारी र बैंकबाट ऋण लिएर करिब दुई करोड रुपैयाँ लगानी गरेको डोटेलले बताए । राज्यबाट भने सिँचाइ र पाइप व्यवस्थापनका लागि दुई लाख रुपैयाँ अनुदान प्राप्त भएको उनले जानकारी दिए । हाल उनको कृषि फार्ममा चार जना युवाले नियमित रोजगारी पाएका छन् ।

विदेशबाट फर्किएर आधुनिक र उच्च मूल्यका कृषि व्यवसायमा लगानी गर्ने डोटेलको प्रयासले स्याङ्जामा कृषि उद्यमको नयाँ सम्भावना देखाएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update