Syangja Dainik Media
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

स्याङ्जाको वालिङ नगरपालिका–८ बाँसघारीस्थित आँधीखोला किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा गरिरहेको एक ट्याक्टरलाई ३० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार बुधबार साँझ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले आँधीखोला किनारमा अवैध रूपमा बालुवा लोड गरी ओसारपसार गरिरहेको अवस्थामा ग १ त ७३३३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालयमा बुझाएको थियो ।

नगरपालिकाले प्रचलित कानुनअनुसार उक्त ट्याक्टरलाई ३० हजार रुपैयाँ जरिवाना गरी छाडेको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए ।

प्रहरीले अनुमति बिना नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार गर्ने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update