बिरुवामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
स्याङ्जाको बिरुवा गाउँपालिकामा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
शनिबार बिहान बिरुवा गाउँपालिका–५ तल्लो सिखरस्थित सडकदेखि करिब पाँच मिटर तल झाडीमा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
उनका अनुसार झाडीभित्र बेवारिसे अवस्थामा लुकाएर राखेको एकनाले भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो ।
प्रहरीले कानुनबमोजिम आवश्यक मुचुल्का तयार गरी बन्दुक जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ल्याइएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा उक्त बन्दुक कसले र किन त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०८३ १८:०३
प्रतिक्रिया दिनुहोस्





