स्याङ्जाको वालिङ नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बिक्रीका लागि आफैं बजार धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।
नगरपालिकाले वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेपछि किसानको उत्पादन घरदैलोबाटै संकलन गरी बजारसम्म पुर्याउने व्यवस्था सुरु गरिएको हो ।
वालिङ नगरपालिका, हेफर इन्टरनेसनल नेपाल र दियालो संस्था (वालिङ कृषि विकास परियोजना) को साझेदारीमा ३२ लाख ९० हजार रुपैयाँ लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको हो । यसमध्ये नगरपालिकाले १८ लाख ९० हजार रुपैयाँ र परियोजनाले १४ लाख रुपैयाँ व्यहोरेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणलाई आधुनिक तथा व्यवस्थित बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार किसानलाई उत्पादन बजारसम्म पुर्याउन सहज बनाउँदै कृषि व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ ।

हाल त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानको घरबाटै तरकारी उठाइने भएकाले ढुवानी खर्च घट्ने, समय बचत हुने र ताजा उत्पादन बजारसम्म छिटो पुग्ने अपेक्षा गरिएको छ ।
सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले ढुवानी अभावका कारण किसानले वर्षौंदेखि भोग्दै आएको समस्या अब समाधान हुने विश्वास व्यक्त गरे । उनले पहिले पर्याप्त सवारी नहुँदा धेरै तरकारी खेतमै कुहिने वा बजारसम्म पुर्याउन कठिन हुने गरेको स्मरण गर्दै अब पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी ढुवानी गर्न सकिने अवस्था बनेको बताए ।
वालिङ नगरपालिकाले तरकारी उत्पादनलाई प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै उत्पादनका आधारमा प्रतिकिलो पाँच रुपैयाँ अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षको ११ महिनामा मात्रै किसानलाई सात लाख ९१ हजार ३ सय ४२ रुपैयाँ नगद अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
गत आर्थिक वर्षमा सहकारीमार्फत एक लाख ५८ हजार २ सय ६८ केजी तरकारी संकलन भएको सहकारीका प्रबन्धक युवराज रेग्मीले जानकारी दिए । कृषि एम्बुलेन्सले एकैपटक करिब १३० क्यारेट तरकारी ढुवानी गर्न सक्ने भएकाले ढुवानी लागत घट्नुका साथै किसान व्यावसायिक खेतीतर्फ थप आकर्षित हुने विश्वास उनले व्यक्त गरे ।
नगरपालिकाका अनुसार कृषि एम्बुलेन्स सञ्चालनसँगै उत्पादनदेखि बजारसम्मको कृषि आपूर्ति शृङ्खला थप सुदृढ हुने, साना तथा व्यावसायिक किसानको बजार पहुँच विस्तार हुने र उनीहरूको आम्दानी बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।






