स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका छन् ।
पुतलीबजार नगरपालिका–३ बाडखोलाका मगरलाई गए राति पुतलीखेतबाट स्याङ्जा बजारतर्फ मोटरसाइकलमा आउने क्रममा अरौंदी खोलाको कजवे तर्ने प्रयास गर्दा खोलाले मोटरसाइकलसहित बगाएको थियो । उनको ग ११ प ८१८३ नम्बरको मोटरसाइकल भने शुक्रबार बिहान घटनास्थलमै फेला परेको थियो ।
खोजी गर्ने क्रममा मगरलाई शुक्रबार दिउँसो पुतलीबजार नगरपालिका–१३ गैरीजाँगरस्थित आँधीखोलामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
मगरको शव खोलाबाट बाहिर निकालेर मुचुल्का तयार गरी पोस्टमार्टमका लागि प्रदेश अस्पताल स्याङ्जा पठाइएको बताउँदै डिएसपी अवस्थीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।





