स्याङ्जा प्रहरीले साउन महिनामा भएका अपराध, पक्राउ तथा अनुसन्धानका घटनाको विवरण मासिक प्रगति प्रतिवेदनमार्फत सार्वजनिक गरेको छ । तर प्रतिवेदनमा समेटिएका कतिपय गम्भीर प्रकृतिका घटना घटेलगत्तै वा प्रहरीले अभियुक्त पक्राउ गरी अनुसन्धान अघि बढाइसकेपछि समेत सञ्चारमाध्यमलाई जानकारी नदिइएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले साउन २९ गतेसम्मको अपराध अनुसन्धान तथा शान्ति सुरक्षासम्बन्धी प्रगति विवरण पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको हो । प्रतिवेदनमा जबर्जस्ती करणी, लागूऔषध, बाल यौन दुरुपयोग, चोरी, अभद्र व्यवहार, ज्यानसम्बन्धी घटना, सवारी ज्यानलगायतका मुद्दा तथा घटनाको विवरण समेटिएको छ ।
तर, घटना सार्वजनिक गर्ने प्रहरीको नियमित अभ्यास र मासिक प्रगति विवरणबीच भने फरक देखिएको छ । घटना भएपछि तत्काल सूचना नदिइएका कतिपय विषय प्रहरीले अभियुक्त पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढिसकेपछि मात्र मासिक प्रगति प्रतिवेदनमा समेटेको छ ।
साउनमा २१ मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले उपलब्ध गराएको विवरणअनुसार साउन महिनामा विभिन्न शीर्षकमा २१ वटा मुद्दा दर्ता भएका छन् ।
तीमध्ये भवितव्यसम्बन्धी चार, झुण्डिएर मृत्यु चार, फुटकर ज्यान एक, सवारी ज्यान एक, जबर्जस्ती करणी तीन, लागूऔषध एक, बाल यौन दुरुपयोग एक, साधारण चोरी एक, अभद्र व्यवहार चार र बैंकिङ कसुर एक रहेका छन् ।
प्रहरीको प्रतिवेदनमा पाँचवटा मुद्दा फर्छ्योट भएको र १६ वटा मुद्दा बाँकी रहेको उल्लेख छ । पक्राउ परेका प्रतिवादीको संख्या १३ रहेको प्रहरीको विवरणमा उल्लेख छ ।
बलात्कारदेखि लागूऔषधसम्मका घटना
प्रहरीको मासिक प्रतिवेदनमा साउन २४ गते घरमा एक्लै रहेकी एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा अर्जुनचौपारी गाउँपालिका–४ का २१ वर्षीय रोशन विक पक्राउ परेको उल्लेख छ । उनलाई साउन २५ गते पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीको विवरण छ ।
यस्तै, साउन महिनामै लागूऔषधसम्बन्धी घटनामा वालिङ नगरपालिका–९ की २७ वर्षीया राजिना गुरुङलाई पक्राउ गरी अनुसन्धान भइरहेको उल्लेख छ । उनलाई साउन २ गते राति हिँडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट बुप्रेनर्फिन एक एम्पुल, डाइजेपाम एक एम्पुल, फेनरागन एक एम्पुल र प्रयोग गरिएको एउटा सिरिन्जसहित नियन्त्रणमा लिइएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीको प्रतिवेदनमा चोरीका घटनामा अनुसन्धान गरी अभियुक्त पक्राउ तथा अदालतमा मुद्दा पेस गरिएको, मानव बेचबिखनसम्बन्धी मुद्दामा एक अभियुक्त पक्राउ गरिएको र हतियारसमेत बरामद गरिएको उल्लेख छ ।
त्यस्तै, प्रहरीले साउन महिनामा विभिन्न समयमा हराएका मोबाइल तथा अन्य सामान फेला पारी सम्बन्धित धनीलाई बुझाएको, बेवारिसे अवस्थामा फेला परेका मानिसलाई आफन्तको जिम्मा लगाएको तथा हराएका मानिसको खोजी गरी परिवारको जिम्मा लगाएको जनाएको छ ।
अरौंदी खोलाको घटनामा पनि ढिलो सूचना
साउन महिनाको सबैभन्दा चर्चामा रहेको घटनामध्ये पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले बगाएर २१ वर्षीय सलिम मगर बेपत्ता भएको घटना पनि हो ।
साउन २८ गते राति मोटरसाइकलसहित खोलाले बगाएका मगरको खोजीका क्रममा साउन २९ गते दिउँसो पुतलीबजार–१३ गैरीजाँगरस्थित आँधीखोलामा शव फेला परेको थियो ।
प्रहरीको प्रतिवेदनअनुसार नेपाली सेनाको सिंहसार्दुल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सशस्त्र प्रहरीको टोलीले खोजी गरेको थियो । शव पोस्टमार्टमका लागि तत्काल प्रदेश अस्पताल पठाइएको उल्लेख छ ।
यस घटनामा साउन २९ गते बिहान १० बजे मोटरसाइकल भेटिएपछी मात्र प्रहरीले मानिस बेपत्ता भएको सूचना दिइएको थियो । घटना घटेलगत्तै सूचना सार्वजनिक गर्नेभन्दा पछि मात्र विस्तृत विवरण बाहिर आएको भन्दै प्रहरीको सूचना प्रवाह शैलीप्रति प्रश्न उठेको छ ।
विपद्का १० घटना, एक जनाको मृत्यु
प्रहरीको मासिक प्रतिवेदनमा साउन महिनामा अविरल वर्षाका कारण भएका विभिन्न विपद्का घटनासमेत समेटिएका छन् ।
चापाकोट नगरपालिका–३ कमिरेमा प्रेम सारु मगरको धनसार भत्किँदा गोठमा रहेका बाख्रा पुरिएका थिए । त्यस्तै वालिङ नगरपालिका–१४ हुग्दीमा पहिरोका कारण गोठ तथा गोठमा रहेका चौपायामा क्षति पुगेको र पुतलीबजार नगरपालिका–१३ हल्लेखोलामा धन्सार, गोठ तथा गोठमा रहेका चौपायामा क्षति पुगेको विवरण प्रतिवेदनमा छ ।
प्रहरीका अनुसार, विपद्का १० घटनामा एक जनाको मृत्यु भएको छ । ती घटनामा तीन भैंसी र सात बाख्रासहित १० वटा चौपायाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
विपद्मा परेका मानिसको उद्धार, हराएकाको खोजी तथा प्राकृतिक विपत्तिका क्रममा प्रहरी परिचालन भएको विवरण पनि प्रतिवेदनमा समेटिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका ४ उजुरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ साउन महिनामा चारवटा उजुरी परेकोमा तीनवटा फर्छ्योट भएको र एउटा बाँकी रहेको प्रहरीको विवरणमा छ ।
साउन महिनामा पाँच महिला, तीन पुरुष, तीन ज्येष्ठ नागरिक र तीन बालबालिका गरी १४ जना हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये तीन महिला, तीन पुरुष र दुई बालबालिका फेला परेको तथा तीन ज्येष्ठ नागरिक, दुई महिला र एक बालबालिकाको खोजी जारी रहेको विवरणमा देखिन्छ ।
सयभन्दा बढी सचेतनामूलक कार्यक्रम
प्रहरीले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्यालय तथा समुदाय केन्द्रित कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ ।
मानव बेचबिखन, लागूऔषध दुरुपयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने अपराध, साइबर अपराध तथा अनलाइन ठगी, विपद् व्यवस्थापन, ट्राफिक सचेतना र घरदैलो कार्यक्रमलगायतका विषयमा ११६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । ती कार्यक्रममा २ हजार ५९१ जना लाभान्वित भएको प्रहरीको दाबी छ ।
समुदाय प्रहरी साझेदारीअन्तर्गत जिल्लाका विभिन्न स्थानमा १६७ समिति गठन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
ट्राफिकतर्फ सात दुर्घटना, एक जनाको मृत्यु
प्रहरीको तथ्याङ्कअनुसार साउन महिनामा जिल्लामा सात वटा सवारी दुर्घटना भएका छन् । तीमध्ये ठक्कर दिएका दुई, नियन्त्रण गुमाएका तीन र मोटरसाइकल–मोटरसाइकल ठक्करका दुई घटना छन् ।
यी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते र छ जना सामान्य घाइते भएको प्रहरीको विवरण छ ।
यस्तै, लागू पदार्थ सेवन गरी सवारी चलाउने एक चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि प्रक्रिया अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ ।
बालुवा ओसार्ने ट्याक्टरदेखि अवैध मदिरासम्म कारबाही
प्रहरीले प्राकृतिक स्रोत दोहन नियन्त्रणतर्फ पनि कारबाही गरेको जनाएको छ । वालिङ–८ बाँसघारीबाट अवैध रूपमा बालुवा ओसारपसारमा प्रयोग भएको ट्याक्टर नियन्त्रणमा लिएर वालिङ नगरपालिकामा बुझाइएको र ३० हजार रुपैयाँ जरिवाना गराइएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, वालिङ–१३ गाहाखोलामा पनि अवैध बालुवा ओसारपसारमा प्रयोग भएको ट्याक्टर नियन्त्रणमा लिएर तीन हजार रुपैयाँ जरिवाना गराइएको तथा भीरकोट नगरपालिका–१ हेलुमा पनि अवैध बालुवा ओसारपसार गर्ने ट्याक्टरलाई १० हजार रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ ।
विद्यालय क्षेत्रवरपर तथा ग्रामीण क्षेत्रमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा बुद्धिजीवीको रोहबरमा नष्ट गरिएको प्रहरीको भनाइ छ ।
सूचना प्रवाहमा प्रश्न
प्रहरीको मासिक प्रगति प्रतिवेदन हेर्दा साउन महिनामा जिल्लामा अपराध अनुसन्धानदेखि पक्राउ, उद्धार, विपद् व्यवस्थापन र नियन्त्रणसम्मका गतिविधि व्यापक भएको देखिन्छ । तर गम्भीर प्रकृतिका कतिपय घटनामा प्रहरीबाट तत्काल सूचना नआएको र पछि मासिक प्रगति विवरणमा मात्र ती घटना समेटिएको विषयले प्रहरीको सूचना प्रवाह प्रणालीमाथि प्रश्न उठाएको छ ।
विशेषगरी जबर्जस्ती करणी, लागूऔषध, हतियार बरामद, चोरी तथा अन्य फौजदारी घटनामा अनुसन्धान प्रभावित नहुने गरी सार्वजनिक गर्न मिल्ने तथ्यसमेत समयमै सञ्चारमाध्यमलाई उपलब्ध नगराउनुको कारण के हो भन्ने प्रश्न उठेको छ ।
प्रहरीले साउन २९ गते सार्वजनिक गरेको मासिक विवरणमा उल्लेख भएका केही मुख्य अपराधसम्बन्धी सूचना घटना घटिसकेपछी, अभियुक्त पक्राउ परी अनुसन्धान अघि बढिसकेको अवस्थामा समेत सञ्चारमाध्यमलाई तत्काल उपलब्ध नगराई महिनाको अन्त्यमा प्रगति विवरणमार्फत मात्र सार्वजनिक गरेको देखिन्छ ।
यसअघि पटकपटक सम्पर्क गर्दा समेत फोन रिसिभ नगरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले उक्त सूचनाहरु अनुसन्धानको संवेदनशीलताका कारण तत्काल दिन नमिल्ने बताएका थिए ।
पक्राउ परिसकेका घटना पनि तत्काल सार्वजनिक भएनन्
प्रहरीको मासिक प्रगति विवरणमा मुख्य अपराधहरु भनेर उल्लेख भएपनि घटना घटेपछि तथा पक्राउपछि तत्काल सञ्चारमाध्यमलाई जानकारी नदिइएका केही घटनामा वालिङ–१२ स्थित अकलादेवी मन्दिरको दानपेटिका चोरी, मानव बेचबिखनसम्बन्धी मुद्दामा फरार प्रतिवादी पक्राउ तथा लागू औषधसहित महिला पक्राउको घटना छन् ।
प्रहरीका अनुसार गत साउन १० गते अकलादेवी मन्दिरमा रहेको दानपेटिका चोरीमा संलग्न रहेको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिका–६ का २८ वर्षीय गंगाधर पाण्डे र २१ वर्षीय राजेश सुनार पक्राउ परेका थिए ।
उनीहरुविरुद्ध चोरी मुद्दामा अनुसन्धान गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको र अदालतको साउन २० गतेको आदेशले जनही पचास हजार रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि दुवैलाई कारागार चलान गरिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, गत आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएको मानव बेचबिखनसम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीमध्ये रुपन्देही देवदह नगरपालिका–३ का ३९ वर्षीय घनश्याम चौधरीलाई साउन १० गते आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीको विवरणमा छ । उनलाई स्याङ्जा जिल्ला अदालतमबाट म्याद थपको अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, साउन २ गते राति वालिङ नगरपालिका–९ तल्लोवालिङकी २७ वर्षीया राजिना गुरूङलाई हिँडिरहेको अवस्थामा संका लागि चेकजाँच गर्दा बुप्रेनर्फिन एक एम्पुल, डाईजेपाम एक एम्पुल, फेनरागन एक एम्पुल र प्रयोग गरिएको एउटा सिरिन्जसहित वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध लागू औषधसम्बन्धी मुद्दामा अनुसन्धान भरहेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
लागूऔषध, मानव बेचबिखन तथा चोरीजस्ता सार्वजनिक सरोकारका घटनामा अभियुक्त पक्राउ गरी अनुसन्धान अघि बढिसकेको अवस्थामा पनि अनुसन्धानको संवेदनशीलता भन्दै तत्काल सूचना नदिइएको डिएसपी अवस्थीले बताएका छन् ।
अवस्थीले सूचना नदिएको विषयमा ‘दिन नमिल्ने भएर नदिएको हो, के गर्न सक्नुहुन्छ गर्नुहोस्’ भन्ने आशयको प्रतिक्रिया समेत दिएका छन् ।
तर त्यही घटना प्रहरीको मासिक प्रगति विवरणमा विस्तृत रूपमा समावेश हुनु आफैँमा विरोधाभासपूर्ण देखिन्छ । अनुसन्धान प्रभावित हुने कारण देखाएर तत्काल सूचना रोकिएको हो भने महिनाको अन्त्यमा त्यही विवरण सार्वजनिक गर्दा अनुसन्धानमा के फरक पर्छ भन्ने प्रश्नसमेत उठेको छ ।
एसपी राठौर भन्छन्– सूचना प्रवाह थप व्यवस्थित बनाउँछौं
यसै विषयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौरलाई प्रश्न गर्दा आगामी दिनमा घटना भएको समयमा नै सार्वजनिक गर्न मिल्ने विवरण सञ्चारमाध्यमलाई उपलब्ध गराउने व्यवस्थामा सुधार गर्ने बताए ।
“प्रहरी अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले केही संवेदनशील घटनाको सूचना तत्काल सार्वजनिक नगरेको हुन सक्छ । विस्तृतमा बुझ्ने र सार्वजनिक गर्न मिल्ने विषयमा भने सूचना प्रवाहलाई थप व्यवस्थित बनाउनेछौँ,” एसपी राठौरले बताए ।
राठौरको भनाइले प्रहरीभित्र अनुसन्धानको संवेदनशीलतालाई आधार बनाएर सूचना रोक्ने अभ्यास रहेको संकेत गरे पनि कुन सूचना कति समयसम्म रोक्ने र त्यसको मापदण्ड के हो भन्ने विषय भने स्पष्ट पार्न आवश्यक देखिन्छ ।
तथ्याङ्क सार्वजनिक गर्नु र समयमै सूचना दिनु एउटै विषय होइन
प्रहरीले महिनाको अन्त्यमा अपराध अनुसन्धान, पक्राउ, फर्छ्योट, विपद् उद्धार, ट्राफिक व्यवस्थापन तथा समुदाय केन्द्रित कार्यक्रमको विस्तृत तथ्याङ्क सार्वजनिक गरेको छ ।
तर मासिक प्रगति प्रतिवेदनमा तथ्याङ्क सार्वजनिक गर्नु र घटना भएको समयमा नागरिकलाई आवश्यक सूचना दिनु एउटै विषय होइन ।
अपराध अनुसन्धान प्रभावित नहुने गरी सार्वजनिक गर्न मिल्ने विवरण घटना भएकै समयमा उपलब्ध गराउनु प्रहरीको नियमित सूचना प्रवाहको हिस्सा हुनुपर्छ । अनुसन्धानका नाममा सार्वजनिक गर्न मिल्ने सामान्य तथ्यसमेत लामो समय लुकाइने र पछि मासिक प्रतिवेदनमा मात्रै राखिने हो भने प्रहरीको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।
त्यसैले स्याङ्जा प्रहरीले अपराध नियन्त्रणसँगै सूचना प्रवाहको स्पष्ट मापदण्ड, समयसीमा र जवाफदेही संयन्त्र पनि बनाउनुपर्ने देखिन्छ । घटना हुँदा मौन बस्ने र महिनाको अन्त्यमा उपलब्धि विवरण सुनाउने शैलीले नागरिकले जान्न पाउने सूचनाको अधिकार पूरा गर्दैन ।
अनुसन्धानको संवेदनशीलता कायम राख्दै सार्वजनिक गर्न मिल्ने सूचना समयमै उपलब्ध गराउनु प्रहरीको पारदर्शिता, जवाफदेहिता र नागरिकको सूचनाको अधिकारका दृष्टिले महत्वपूर्ण हुन्छ ।
त्यसैले स्याङ्जा प्रहरीले आगामी दिनमा अनुसन्धान प्रभावित नहुने विषयमा घटना र पक्राउसम्बन्धी सूचना समयमै सञ्चारमाध्यमलाई उपलब्ध गराउने सूचना प्रवाह प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्ने देखिन्छ ।





-1786887098.jpg)
