Syangja Dainik Media
योजना छनोटमा विवादपछि चापाकोट–१ को वडा कार्यालयमा तालाबन्दी

स्याङ्जाको चापाकोट नगरपालिका–१ को वडा कार्यालयमा आर्थिक वर्ष २०८३/८४ का योजना छनोट र बजेट विनियोजनलाई लिएर स्थानीय युवाले तालाबन्दी गरेका छन् ।

वडाध्यक्ष भूपराज वोस्तीले स्थानीय आवश्यकता र सरोकारवालासँग पर्याप्त छलफल नगरी अपारदर्शी तथा एकलौटी ढङ्गबाट योजना छनोट गरेको आरोप लगाउँदै युवाहरूले बुधबार दिउँसोदेखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दीमा उत्रिएका युवाहरूले योजना छनोटका क्रममा टोल तथा वडास्तरीय भेला नगरी बजेट विनियोजन गरिएको र स्थानीय जनप्रतिनिधिसमेतसँग आवश्यक परामर्श नगरिएको आरोप लगाएका छन् ।

स्थानीय युवा गोपीकृष्ण रेग्मीले योजना र बजेट निर्माण गर्दा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित हुनुपर्ने बताए । स्थानीय आवश्यकता पहिचान गरेर प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने उनको माग छ ।

‘वडा र टोलस्तरमा आवश्यक छलफल गरेर जनताको वास्तविक आवश्यकताका आधारमा योजना छनोट र बजेट विनियोजन गर्ने सुनिश्चितता नभएसम्म तालाबन्दी जारी रहन्छ,’ रेग्मीले भने ।

वडा कार्यालयमा तालाबन्दी भएपछि वडा सदस्य सन्तोष थापाले चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालालाई समेत निवेदन दिएका छन् । उनले बजेट तथा योजना व्यवस्थापनमा पारदर्शिता कायम गर्दै स्थानीयको सहभागिता सुनिश्चित गर्न माग गरेका छन् ।

यता, वडाध्यक्ष भूपराज वोस्तीले भने योजना छनोटमा एकलौटी नगरिएको दाबी गरेका छन् । उनले चालु आर्थिक वर्षमा कार्यान्वयन हुने योजना सरोकारवाला पक्षहरूको सहभागितामै छनोट गरिएको बताए ।

योजना छनोट प्रक्रियालाई लिएर स्थानीय युवा र वडाध्यक्षबीच मतभेद बढेपछि चापाकोट–१ को वडा कार्यालयको कामकाज प्रभावित हुने अवस्था बनेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update