स्याङ्जाको वालिङमा सवारीसाधन चेकजाँचका क्रममा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार साँझ वालिङ नगरपालिका–१ कालिमाटी ठाँटीस्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
चेकजाँचका क्रममा ग १८ प ५४९७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा सवार दुई जनाको साथबाट लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
पक्राउ पर्नेमा भीरकोट नगरपालिका–२ का २६ वर्षीय सहिद दिन मियाँ र वालिङ नगरपालिका–१ का ३० वर्षीय सुवास काफ्ले रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट बुप्रेनोर्फिन ३९ एम्पुल, डाइजेपाम ३८ एम्पुल, फेनरागन ३९ एम्पुल र दुई थान सिरिन्ज बरामद गरेको छ । साथै ओप्पो कम्पनीको एक थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक अवस्थीले बताए ।





