स्याङ्जाको भीरकोट नगरपालिकामा अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको अवस्थामा एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । ट्याक्टरलाई नगरपालिकाले १० हजार रुपैयाँ जरिवाना गरी छाडेको छ ।
बिहीबार प्रहरीले भीरकोट नगरपालिका–१ एकुवारस्थित भित्री सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
उनका अनुसार एकुवारबाट बयरघारीतर्फ आउँदै गरेको ग १ त ७५८२ नम्बरको ट्याक्टरले अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको प्रहरीले फेला पारेको थियो ।
प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भीरकोट नगरपालिकाको कार्यालयमा पठाएको थियो । नगरपालिकाले ट्याक्टरलाई १० हजार रुपैयाँ जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ ।






