अवैध रूपमा बालुवा लोड गर्दै गरेको ट्याक्टरलाई जरिवाना
स्याङ्जाको वालिङ नगरपालिकामा अवैध रूपमा बालुवा लोड गर्दै गरेको अवस्थामा प्रहरीले एउटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार आइतबार प्रहरी चौकी थुमपोखराबाट खटिएको टोलीले वालिङ नगरपालिका–१३ गाहाखोलामा ग १ त ६३६२ नम्बरको ट्याक्टरमा अवैध रूपमा बालुवा लोड गरिरहेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सोमबार वालिङ नगरपालिकाको कार्यालयमा बुझाएको थियो ।
नगरपालिकाले उक्त ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना गरेको र त्यसपछि छाडिएको डीएसपी अवस्थीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ १३:३८
प्रतिक्रिया दिनुहोस्






