Syangja Dainik Media
पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

स्याङ्जाको पुतलीबजार नगरपालिकाले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितका लागि २७ लाख ३९ हजार ८ सय ५८ रुपैयाँ सहयोग गर्ने भएको छ ।

नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको भदौ १५ गते बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

निर्वाचित जनप्रतिनिधिले पाउने मासिक सेवा सुविधाबाट नगरप्रमुख र उपप्रमुखले १५/१५ दिनको, वडाध्यक्ष तथा कार्यपालिका सदस्यले १०/१० दिनको र वडा सदस्यले आफ्नो सेवा सुविधाबाट जनही चार हजार पाँच सय रुपैयाँका दरले गरी तीन लाख ८८ हजार सात सय ५० रुपैयाँ सहयोग गर्ने भएका छन् ।

त्यस्तै, नगरपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारीमध्ये श्रेणीविहीन कर्मचारीको दुई/दुई दिन, राजपत्र अनंकित वा सोसरहका कर्मचारीको पाँच/पाँच दिन र राजपत्रांकित तृतीय तथा द्वितीय श्रेणी वा सोसरहका कर्मचारीको सात/सात दिनको तलबबाट १२ लाख ५१ हजार एक सय आठ रुपैयाँ सहयोग गरिने भएको छ ।

नगरपालिकाले ११ लाख रुपैयाँ बराबरको वस्तुगत सहयोग समेत गर्ने निर्णय गरेको छ । उक्त रकमबाट दैनिक उपभोग्य सामग्री खरिद गरी बाढीपीडितलाई उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराउन लागिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update