स्याङ्जाको पुतलीबजार नगरपालिकाले करिब सात हजार कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकाले १४ वटै वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार ४०० किलो बीउ उपलब्ध गराएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार कृषकलाई जनकदेव र खुमल सेतो जातको आलुको बीउ वितरण गरिएको छ । जसमध्ये ८० हजार ५० किलो जनकदेव र २५ हजार ३५० किलो खुमल सेतो जातको बीउ रहेको छ ।
कृषकलाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले विगतदेखि नै अनुदानमा बीउ वितरण गर्दै आएको सुवेदीले बताए । यसपटक वितरण गरिएको बीउ गल्याङ नगरपालिकास्थित भगवती कृषक समूहबाट खरिद गरिएको हो । दुवै जातको बीउ प्रतिकिलो ५९ रुपैयाँका दरले खरिद गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कुल ६२ लाख १८ हजार ६०० रुपैयाँ खर्च गरेर बीउ खरिद गरेको हो । उक्त बीउ कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।
वडागत मागअनुसार वडा नम्बर १ मा ६ हजार ३१४ किलो, वडा नम्बर २ मा तीन हजार ५५९ किलो, वडा नम्बर ३ मा १९ हजार किलो, वडा नम्बर ४ मा आठ हजार ५०० किलो र वडा नम्बर ५ मा १३ हजार २६० किलो बीउ वितरण गरिएको छ ।
त्यस्तै, वडा नम्बर ६ मा तीन हजार ४८६ किलो, वडा नम्बर ७ मा नौ हजार ८११ किलो, वडा नम्बर ८ मा चार हजार ५१ किलो, वडा नम्बर ९ मा दुई हजार ६०० किलो र वडा नम्बर १० मा ९०८ किलो बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वडा नम्बर ११ मा आठ हजार ६५ किलो, वडा नम्बर १२ मा तीन हजार ६२० किलो, वडा नम्बर १३ मा नौ हजार ३२२ किलो र वडा नम्बर १४ मा १२ हजार ३०० किलो बीउ वितरण गरिएको छ । पालिका कार्यालयमार्फत थप ६०४ किलो बीउको मागसमेत पूरा गरिएको छ ।
कृषकलाई अनुदानमा आलुको बीउ हस्तान्तरण गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले उत्पादनमा सक्रिय कृषकलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताए । काम गरेर उत्पादन गर्ने कृषकलाई प्रोत्साहन र सहयोग गर्ने नीति नगरपालिकाले लिएको उनको भनाइ छ ।






