स्याङ्जाको पुतलीबजार नगरपालिकाका केही वडामा रोपिएको धानबालीमा खपटे किराको संक्रमण देखिएपछि नगरपालिकाले किसानलाई सतर्क रहन आग्रह गरेको छ । नियमित कृषि अनुगमनका क्रममा वडा नम्बर ४, १३ र १४ का विभिन्न स्थानमा धानमा खपटे किराको प्रकोप देखिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाका अनुसार भर्खरै रोपिएको धानमा किरा देखिएको भन्दै किसानबाट सूचना आएपछि कृषि प्राविधिकसहितको टोलीले वडा नम्बर १४ को लामागे क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा धानबालीमा खपटे किराको संक्रमण पुष्टि भएको उनले बताए ।
खपटे किराले धानका पात खाइदिने भएकाले बालीमा क्षति पुग्ने जोखिम बढेको नगरपालिकाकी कृषि अधिकृत सुष्मा पनेरूले बताइन् । उनले धानका पात सुकेजस्तो देखिनु यस किराको मुख्य लक्षण भएकाले किसानले नियमित रूपमा खेतको निरीक्षण गर्नुपर्ने बताइन् ।
उनका अनुसार संक्रमण देखिएका क्षेत्रका कृषकलाई कृषि शाखाले आवश्यक प्राविधिक परामर्श दिइसकेको छ । प्रारम्भिक अवस्थामै किराको पहिचान गर्न सकेमा क्षति कम गर्न सकिने भएकाले खेत तथा वरपरका झारपात पूर्ण रूपमा हटाउन र खेतको नियमित निगरानी गर्न किसानलाई आग्रह गरिएको छ ।
नगरपालिकाको कृषि शाखाले खपटे किराको प्रारम्भिक संक्रमण देखिएका खेतमा निमयुक्त विषादी (एजाडिरेक्टिन ०.०३ प्रतिशत) दुई मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्न सल्लाह दिएको छ ।
यदि किराको प्रकोप बढी देखिएमा सिफारिस गरिएका कीटनाशक लाम्डासाइहेलोथ्रिन ५ प्रतिशत (०.५ मिलिलिटर) वा मालाथियन ५० प्रतिशत (१.५ मिलिलिटर) प्रतिलिटर पानीमा मिसाएर प्रयोग गर्न सकिने शाखाले जनाएको छ ।
विषादी प्रयोग गर्दा भने किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । मास्क, पञ्जा र सुरक्षात्मक चस्मा अनिवार्य लगाउन तथा बिहान वा साँझ हावा कम चलेको समयमा मात्रै विषादी छर्न नगरपालिकाले सुझाव दिएको छ ।
नगरपालिकाले समयमै रोग तथा किराको पहिचान गरी प्राविधिकको सल्लाहअनुसार व्यवस्थापन गर्न सके धानबालीलाई ठूलो क्षतिबाट जोगाउन सकिने जनाएको छ । साथै कुनै पनि असामान्य समस्या देखिए तत्काल कृषि शाखामा जानकारी गराउन किसानलाई आग्रह गरिएको छ ।






