Syangja Dainik Media
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई जरिवाना

स्याङ्जामा अवैध रूपमा बालुवा ओसारपसार गरिरहेका दुई ट्याक्टरलाई कारबाही गरिएको छ । दुवै ट्याक्टरलाई सम्बन्धित स्थानीय तहमा बुझाइएपछि कुल १३ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बुधबार बिहान प्रहरी चौकी साँखरबाट खटिएको टोलीले चापाकोट नगरपालिका–७ रामघाटमा लु ३ त ९२४१ नम्बरको ट्याक्टरले बालुवा लोड गरी ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आवश्यक कारबाहीका लागि चापाकोट नगरपालिकामा पठाइएको उक्त ट्याक्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी, गत शुक्रबार अस्थायी प्रहरी पोस्ट रामबाच्छाबाट खटिएको टोलीले वालिङ नगरपालिका–१ रामबाच्छास्थित सिद्धार्थ राजमार्गबाट ग ३ त ४९७२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको अवस्थामा फेला परेको उक्त ट्याक्टरलाई आवश्यक कारबाहीका लागि वालिङ नगरपालिकामा पठाइएको थियो ।

नगरपालिकाले बुधबार उक्त ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update