Syangja Dainik Media
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालय, भाडाको घरबाट सीमित सेवा

स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीस्थित यवादीमा खहरेधनुबाँसे आयुर्वेद औषधालयको भवन निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । भवन निर्माण अलपत्र परेपछि औषधालयले भाडाको घरबाट सीमित सेवा दिँदै आएको छ ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको भवन संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ५८ लाख ८६ हजार एक सय ५५ रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता भएको थियो । तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण पाँच वर्षसम्म पनि भवन आधामै रोकिएको छ ।

संघीय सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालका अनुसार भवनको करिब आधा काम मात्र पूरा भएको छ । तोकिएको समयमा निर्माण नसकिएपछि कार्यालयले ठेक्का तोड्ने आशयको सूचना जारी गरिसकेको छ ।

भदौ मसान्तसम्म पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाए ठेक्का रद्द गर्ने तयारी रहेको लम्सालले बताए । उनका अनुसार कार्यालयको चाहना सकेसम्म यही निर्माण कम्पनीबाट भवन पूरा गराउने हो ।

‘निरन्तर काम गरेको भए समय धेरै लाग्ने थिएन, अहिले पनि आधाजसो काम बाँकी छ,’ उनले भने ।

निर्माण अघि बढाउन कार्यालयले पटकपटक पत्राचार गरे पनि अपेक्षित प्रगति हुन सकेको छैन । स्थानीय र जनप्रतिनिधिले समेत काम तीव्र बनाउन आग्रह गर्दै आएका छन् ।

वालिङ–१ का वडाध्यक्ष पदमराज गुरुङले स्वास्थ्यजस्तो संवेदनशील सेवा दिने उद्देश्यले बनाइन लागेको भवन निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको बताए । समस्या भए स्थानीय र जनप्रतिनिधिले सहजीकरण गर्ने बताउँदा पनि निर्माण कम्पनीले काम अघि नबढाएको उनको भनाइ छ ।

भवन नहुँदा औषधालयले दिने सेवासमेत प्रभावित भएको छ । कार्यालय प्रमुख हरिप्रसाद अर्यालका अनुसार अहिले भाडाको घरबाट सामान्य स्वास्थ्य सेवा, औषधोपचार र परामर्श मात्रै सञ्चालन भइरहेको छ ।

भवन अभावकै कारण मेडिकल योगा, शिरोधारा तथा औषधि निर्माणलगायतका सेवा सञ्चालन हुन सकेका छैनन् ।

धनुबाँसे मात्रै होइन, स्याङ्जाका अन्य आयुर्वेद स्वास्थ्य संस्थाका भवन निर्माण पनि लामो समयदेखि अधुरै छन् । अर्जुनचौपारी गाउँपालिकाको आरुचौर आयुर्वेद औषधालय, आँधीखोला गाउँपालिकाको सेतीदोभान प्राथमिक स्वास्थ्य केन्द्रसमेत करिब पाँच वर्षदेखि अलपत्र अवस्थामा छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update