Syangja Dainik Media
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा

स्याङ्जामा झुटा विवरण पेस गरी दोहोरो नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका एक पुरुष र उनकी दिदी धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरका अनुसार गल्याङ नगरपालिका–२ का ३६ वर्षीय मधु थापा र उनकी ४५ वर्षीया दिदी सपिना थापा पक्राउ परेका थिए ।

प्रहरीका अनुसार मधु थापाले २०६५ असार १९ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आफ्नो नाममा नेपाली नागरिकता लिएका थिए । त्यसपछि उनले नक्कली एसएलसी शैक्षिक प्रमाणपत्र तयार गरी झुटा विवरण पेस गरेको आरोप छ ।

अनुसन्धानका क्रममा उनले अर्को व्यक्तिलाई बुबा कायम गरी आफ्नो नाम कुशल थापा र फरक जन्ममिति राखेर २०७२ मंसिर ४ गते सोही कार्यालयबाट अर्को नेपाली नागरिकता लिएको खुलेको प्रहरीले जनाएको छ । कुशल थापाको नाममा राहदानीसमेत लिएको विषयमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रहरीलाई पत्राचार गरेको थियो ।

प्राप्त पत्रका आधारमा प्रहरीले २०८२ चैत १५ गते नागरिकता तथा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । मधु थापालाई २०८३ भदौ ८ गते र दोहोरो नागरिकता सनाखत गरेको आरोपमा उनकी दिदी सपिना थापालाई भदौ ३१ गते पक्राउ गरिएको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

उनका अनुसार अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेपछि दुवै जनालाई असोज ५ गते स्याङ्जा जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतको आदेशअनुसार मधु थापा दुई लाख २५ हजार रुपैयाँ र सपिना थापा एक लाख २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update