Syangja Dainik Media
स्याङ्जामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

स्याङ्जामा तिहारमा देउसी–भैलो खेल्ने समय राति १० बजेसम्म मात्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन राति १० बजेपछि देउसी–भैलोसहितका सांस्कृतिक कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेको छ ।

प्रशासनले देउसी–भैलोका नाममा जबर्जस्ती चन्दा असुल्ने, होहल्ला गर्ने, बाटो अवरुद्ध गर्ने र चर्को आवाजमा डिजे तथा साउन्ड सिस्टम बजाउने गतिविधि नियन्त्रण गर्न समयसीमा निर्धारण गरेको जनाएको छ ।

मौलिक संस्कृति र परम्पराको नाममा अवाञ्छित गतिविधि बढ्दै गएको गुनासो आएपछि विशेष सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले जानकारी दिए ।

प्रशासनले देउसी–भैलो तथा नाचगानजस्ता कार्यक्रम सार्वजनिक यातायात र सर्वसाधारणको दैनिक जीवनमा असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न भनेको छ । यस्ता गतिविधि गर्दा आपसी भाइचारा र आत्मीयता बढाउने तथा आफ्नो संस्कृतिको संरक्षण गर्ने गरी अरूको धर्म, संस्कृति र परम्परामा आघात नपुग्ने वातावरण बनाउन पनि आग्रह गरिएको छ ।

तिहारमा हुन सक्ने विकृति र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रशासनले पटका, भुइँचम्पा, रकेट, आतसबाजीजस्ता विस्फोटक पदार्थको अवैध आयात, ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न सचेत गराएको छ ।

सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, भीडभाड र हुलहुज्जत गरी अशान्ति फैलाउने गतिविधि नगर्न पनि भनिएको छ ।

त्यस्तै, तिहार तथा दीपावलीका अवसरमा जुवातास, कौडा, लड्डुबुर्जा लगायत पैसाको हारजित हुने खेल नखेल्न र नखेलाउन प्रशासनले आग्रह गरेको छ । अनलाइन सट्टेबाजी र अवैध चिट्ठाजस्ता गतिविधिमाथि पनि निगरानी तथा कारबाही कडा बनाइने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

चाडपर्वको मौका छोपेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, सामान जम्माखोरी गर्ने, कालोबजारी गर्ने र अस्वाभाविक मूल्यवृद्धि गर्ने कार्य नगर्न व्यापारीलाई सचेत गराइएको छ । म्याद गुज्रिएका भाइ मसला तथा अन्य उपभोग्य वस्तुको खरिदबिक्री नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

यातायाततर्फ सवारीसाधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगर्न तथा क्षमताभन्दा बढी यात्रु नबोक्न भनिएको छ । लामो तथा छोटो दूरीका सार्वजनिक सवारीले यात्रुसँग बढी भाडा असुल्ने, दुर्व्यवहार गर्ने वा क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइए प्रहरी कन्ट्रोल नम्बर १०० वा ट्राफिक प्रहरीलाई १०३ मा खबर गर्न प्रशासनले आग्रह गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारबाही गरिने घिमिरेले बताए ।

दीपावलीका बेला बिजुली र मैनबत्ती प्रयोग गर्दा सावधानी अपनाउन तथा परिवारसहित घर छाडेर बाहिर जानुपरे घरको सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन प्रशासनले अनुरोध गरेको छ । यात्रा गर्दा बहुमूल्य गरगहना प्रयोगमा पनि सावधानी अपनाउन भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले उल्लिखित निर्देशन अवज्ञा गरी कानुनविपरीतका गतिविधि गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने बताए ।

प्रशासनले तिहारको मौलिक संस्कृति जोगाउँदै सामाजिक सद्भाव, शान्ति सुरक्षा र सार्वजनिक मर्यादा कायम राख्न जिल्लावासीसँग सहयोग मागेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update