कुनै समय कोदो र अन्य अन्नबाली लगाइने स्याङ्जाका बारीमा पछिल्लो समय सयपत्री फूल फुल्न थालेका छन् ।
बाँदरबाट अन्नबालीमा जस्तो क्षति नहुने र बजारमा माग पनि राम्रो रहेकाले किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् । तिहारलाई लक्षित गरेर सुरु भएको व्यावसायिक फूलखेतीबाट किसानले राम्रो आम्दानीसमेत गर्न थालेका छन् ।
जिल्लाका कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिका तथा गल्याङ, चापाकोट र वालिङ नगरपालिकामा व्यावसायिक सयपत्री फूलखेती भइरहेको छ ।
कालीगण्डकी गाउँपालिका–७ बारीचौरका ७१ वर्षीय धनबहादुर थापाले पाँच वर्षदेखि फूलखेती गर्दै आएका छन् । उनले चार रोपनी जग्गामा कर्मा–५५५ जातको सयपत्री लगाएका छन् । यस आर्थिक वर्षमा साढे चार क्विन्टल फूल उत्पादन भएको उनले बताए ।
विगतमा सोही बारीमा कोदो खेती गर्दै आएका थापाले फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि खेती परिवर्तन गरेका हुन् । गत आर्थिक वर्षमा उनले ६ क्विन्टल फूल उत्पादन गरेका थिए । प्रतिकिलो २५० देखि ४०० रुपैयाँसम्ममा बिक्री गरेर एक वर्षमा करिब तीन लाख रुपैयाँ आम्दानी गरेको उनले सुनाए ।

यस वर्ष फूल चाँडै रोपिएको र तिहार ढिलो परेकाले बिक्री व्यवस्थापनमा केही समस्या भए पनि आम्दानी भने राम्रो भएको थापाको भनाइ छ ।
कालीगण्डकी गाउँपालिका–२ लसर्गाकी पुष्पा सिंह रानाले पनि चार वर्षदेखि दुई रोपनी जग्गामा फूलखेती गर्दै आएकी छन् । गत वर्षको तुलनामा यसपालि उत्पादन घटे पनि चार क्विन्टल फूल उत्पादन भएको उनले बताइन् ।
त्यस्तै, वडा नम्बर ५ बासटारीका रविलाल गौडेलले साढे दुई रोपनीमा फूलखेती गरेका छन् । फूल बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । नर्सरीमा अझै फूल रहेकाले तिहारसम्म सबै बिक्री हुने उनको अपेक्षा छ ।
कालीगण्डकी गाउँपालिकाले सुरुमा आफैं फूलखेती गरेर किसानलाई यसतर्फ आकर्षित गरेको थियो । फूल उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई दुई वर्षसम्म प्रतिरोपनी नौ हजार रुपैयाँ अनुदान र बीउ उपलब्ध गराइएको गाउँपालिकाकी सूचना अधिकारी तथा प्रशासकीय अधिकृत टीकाकुमारी क्षेत्रीले जानकारी दिइन् । पालिकाले पनि दुई वर्ष आफैं खेती गरेर वार्षिक १५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार चालु आर्थिक वर्षमा यहाँका किसानले १५ लाख रुपैयाँभन्दा बढी मूल्यको फूल बिक्री गर्ने अनुमान छ । सात वडा रहेको गाउँपालिकामा वडा नम्बर ४ बाहेक अन्य वडाका १५ किसानले करिब ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् ।
गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर रानाले यस वर्ष दुई क्विन्टल फूल उत्पादन गरेर बिक्री गरिसकेका छन् । फूल चाँडै रोपिएकाले दशैंदेखि नै बिक्री सुरु गरेको उनले बताए । अहिले आफ्नो बारीमा थोरै मात्र फूल बाँकी रहेको उनको भनाइ छ ।

रानाले पाँच वर्षदेखि मौसमी तथा बेमौसमी फूलखेती गर्दै आएका छन् । गल्याङ नगरपालिकामा उनले करिब १३ रोपनी क्षेत्रफलमा फूलखेती गरेको बताए ।
जिल्लामा फूलको व्यावसायिक उत्पादन बढ्दै गएपछि बाहिरी जिल्लाबाट फूल र माला आयात गर्ने क्रमसमेत घट्न थालेको छ । स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसान पनि खेती विस्तार गर्न उत्साहित भएका छन् । स्याङ्जामा उत्पादित फूल तथा माला अहिले पोखरा र बुटवलसम्म पुग्न थालेको छ ।






