
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा माघे संक्रान्ती मेला हुने भएको छ ।
तेस्रो वडा अध्यक्ष कपअन्तर्गत आगामी माघ १ देखि ४ गतेसम्म प्रतियोगिता हुन लागेको हो । कारिकोट स्पोर्ट्स क्लबको आयोजनमा कालीगण्डकी गाउँपालिका -१ स्थित धगौती बगर, तीनमुखे पुलमा प्रतियोगिता हुने भएको हो । पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागी समूहले एकजना खेलाडी अन्य पालिकाको समावेश गर्न पाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः एक लाख ५० हजार रुपियाँ, एक लाख र ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै, सान्त्वना हुने समूहले २५ हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
साथै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर र उत्कृष्ट कोचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।