
स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ४ गोगुङ्गास्थित दुई घरमा आगलागी हुँदा करिब तीन लाख बराबरको क्षति भएको छ ।
सोमबार बिहान स्थानीय केशर सिंह रानाको ढुङ्गा, माटोले बनेको र खरको छानो भएको दुई तले कच्ची गोठमा अचानक आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आगलागीमा परी गोठमा रहेका चौपायाहरु एउटा भैंसी र तीनवटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
त्यसैगरी, सो गोठबाट करिब दुई किलोमिटर टाढा रहेको स्थानीय मिनकला थापा मगरको ढुङ्गा माटोले बनेको र जस्ताको छानो भएको तीन तले कच्ची घरमा समेत आगलागी भएको छ ।
उक्त आगलागीबाट दोस्रो तलाको झ्यालमा आगो सल्किँदा काठको झ्याल एउटा र छानोमा समेत क्षति भएको प्रहरी निरीक्षक तिवारीले बताए ।
दुवै ठाउँमा मानवीय क्षति नभएपनि आगलागी नियन्त्रणमा आउँदासम्म करिब तीन लाख बराबरको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ । आगलागीको कारण भने नखुलेको प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए ।