Syangja Dainik Media
गोरु काटेको आरोपमा एकजना पक्राउ

स्याङ्जा प्रहरीले गोरु काटेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका – १२ पेल्काचौर सिम्लेका ४० वर्षीय टेक भन्ने डम्बरबहादुर गुरुङ रहेका छन् ।

वैशाख १६ गते गुरुङले गोरु काटेको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई १७ गते दिउँसो पक्राउ गरेको हो । तत्काल फरार रहेका गुरुङलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

SDO_SYJ ADS

आफ्नै घर पालेको गोरुलाई घर नजिकै बारीमा लगेर काटेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

गुरुङले गोरु काटेर मासु टुक्राटुक्रा बनाई घरको आगनमा त्रिपालभित्र बेरेर लुकाएर राखेको अवस्थामा फेला परेको डिएसपी पौडेलले बताए ।

गोरु काट्नेलाई पशुपन्छी सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ । अपराध संहिता २०७४ को फौजदारी कसुर ऎनको परिच्छेद २७ मा पशुसम्बन्धीको कसुर गरेमा तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update